सर्लाही, ३१ बैशाख । विपक्षी दल नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले कालापानी, लिपुलेकलगायत अतिक्रमित भूमिमा नेपालको स्वामित्व स्थापित गर्न ठोस कूटनीतिक पहलको आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा समेट्न माग गरे । 

सांसद ठगुन्नाले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदी पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको बताए ।

उनले भारतले झण्डै ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरी सैनिक ब्यारेक राखेको र सोही क्षेत्रमा सडक निर्माण गरेर चीनसँग व्यापार सुरु गर्न लागेकोमा सरकारको ध्यानाकर्षण गराए । 

उनले भारतीय विदेश मन्त्रालयको हालै सार्वजनिक भएको भनाइले पनि सन् १९५४ अघि सो क्षेत्र नेपालकै हकभोगमा रहेको पुष्टि गरेको दाबी गरे ।

राष्ट्रिय स्वाधीनता जोगाउन सीमा क्षेत्रका जनतालाई राज्यको मूलधारमा जोड्नुपर्नेमा जोड दिँदै उनले भारतीय पक्षले सीमावर्ती आफ्ना नागरिकलाई सडक, रोजगारी र सस्तो खाद्यान्न उपलब्ध गराउँदा नेपाली नागरिक भने महँगी र बाटोको अभावमा भारतीय भूमि प्रयोग गर्न बाध्य भएको बताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवाद मात्र होइन, यो भारतद्वारा बल प्रयोग गरी कब्जा गरिएको नेपालको भूमि हो ।

नीति तथा कार्यक्रममा यसलाई सीमा विवादका रूपमा मात्र उल्लेख गरिनु अपूर्ण छ । यसलाई भारतीय अतिक्रमणका रूपमा स्वीकार गर्दै स्वामित्व फिर्ताको स्पष्ट प्रतिबद्धता आउनुपर्छ,’ उनले भने । 

त्यसैगरी, उनले दार्चुलाको व्यास गाउँपालिका–१ को छारुङ र टिंकर जोड्ने सडकको बजेट कटौति गरिएकोमा असन्तुष्टि जनाए ।

आर्थिक वर्ष २०७८–७९ मा २२ करोड ५० लाख विनियोजन गरिएको तुसारपानी–टिंकर–लिपुलेक सडकमा हालको बजेट घटाएर ३ करोड ३० लाखमा सीमित गरिएकोमा असन्तुष्टि जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *