सर्लाही, १ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाका एक उपभोक्ता माउन्टेन ड्यु सेवन गरेपछि अस्वस्थ भएको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित उत्पादक कम्पनीमाथि अनुगमन तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको र्यापिड रेस्पोन्स टोलीले बरुण बेभरेज (नेपाल) प्रा.लि.मा पुगेर स्थलगत निरीक्षण गरेको जनाएको छ ।
विभागका अनुसार बिरामी परेका उपभोक्ताले सेवन गरेको पेय पदार्थ २५० मिलिलिटरको माउन्टेन ड्यु रहेको र त्यसमा ब्याच नम्बर १६८ तथा उत्पादन मिति ०३-०४-२६ उल्लेख भएको पुष्टि भएको छ ।
अनुगमनका क्रममा उद्योगको गोदाममा सोही ब्याचका एक क्रेट अर्थात् २४ बोतल मात्र मौज्दात रहेको र बाँकी उत्पादन यसअघि नै बजारमा पठाइसकिएको पाइएको विभागले जनाएको छ ।
प्रारम्भिक परीक्षणका क्रममा उक्त ब्याचको उत्पादनमा समस्या देखिएको आशंकापछि विभागले नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले कम्पनीलाई उक्त उत्पादनमा प्रयोग गरिएका कच्चापदार्थको विवरण तथा खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।
त्यसैगरी प्रयोगशालाबाट अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म ब्याच नम्बर १६८ अन्तर्गतका उत्पादन बजारमा बिक्री-वितरण नगर्न तथा यसबारे सम्बन्धित विक्रेतालाई समेत जानकारी गराउन विभागले कम्पनीलाई निर्देशन दिएको जनाएको छ ।

