The doctor holds a red ribbon, HIV awareness awareness, World AIDS Day and World Sexual Health Day.

सर्लाही, ०२ जेठ । मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआईभी–एड्स संक्रमित बिरामीको संख्या सबैभन्दा बढी रहेको पाइएको छ ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र १ हजार ५०४ जना एचआईभी–एड्सका बिरामी छन् ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा प्रदेशमा कुल चार हजार ६८० जना एचआईभी संक्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन् ।

प्रदेशअन्तर्गत धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना संक्रमित रहेका छन् ।

निर्देशनालयका एचआईभी–एड्स फोकल पर्सन राजवीर यादवका अनुसार आर्थिक वर्ष २०७६–७७ मा मधेश प्रदेशमा १४ हजार जनाको एचआईभी परीक्षण गरिएको थियो । उक्त संख्या बढेर आर्थिक वर्ष २०८१–८२ सम्ममा ७६ हजार ७९२ पुगेको छ ।

आर्थिक वर्ष २०७५–७६ मा ४००, २०७७–७८ मा ४७५, २०७८–७९ मा ६७५, २०७९–८० मा ६०६, २०८०–८१ मा ५१० तथा २०८१–८२ मा ४७९ जनामा एचआईभी संक्रमण पुष्टि भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा १६ जना गर्भवती महिलामा एचआईभी संक्रमण पुष्टि भएको छ ।

समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा समेत संक्रमण सर्न सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेशमा १८ वर्षमुनिका १७५ बालबालिकामा एचआईभी संक्रमण रहेको छ । तीमध्ये ४७ जना एकल अभिभावकविहीन तथा २० जना पूर्ण अनाथ रहेका छन् ।

संक्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पोषणका लागि मासिक एक हजार नगद सहायता उपलब्ध गराइँदै आएको छ । प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषधको प्रयोग, असुरक्षित यौन सम्पर्कका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको बताए ।

प्रदेशमा हाल १० वटा सरकारी तथा एउटा गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा छन् । एचआईभी परीक्षण तथा परामर्श सेवा, भाइरल लोड परीक्षण तथा प्रारम्भिक शिशु परीक्षण सेवा आठै जिल्लामा उपलब्ध छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट नियन्त्रणका प्रयास भइरहे पनि समस्या समाधानमा अपेक्षित सुधार नभएको सर्लाहीका जनस्वास्थ्य अधिकृत नवलकिशोर झाले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *