सर्लाही, ०३ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान) लाई अन्तिम पटक स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १४ वैशाखमा मन्त्रीस्तरीय निर्णय गरे ।
सोही निर्णय कार्यान्वयनका लागि मन्त्रालयले साेही दिन निर्देशनसहितको पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पठायो ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को छानबिनका क्रममा क्यानले सहयोग नगरेको ठहरसहित मन्त्रालयले कारबाही अगाडि बढाउन राखेपलाई निर्देशन दिएको हो । तर, राखेपले क्यानलाई कारबाहीको पत्र कार्यान्वयन गर्नुको सट्टा उक्त पत्र फेरि मन्त्रालयमै फर्काइदिएको छ ।
मन्त्रालयको पत्रमा अलमल भएको भन्दै राखेपले बिहीबार थप खुलाएर पठाउनसमेत पत्राचार गरेको हो । ‘राखेपको कार्यकारी सदस्यको नेतृत्वमा बनेको समितिको प्रतिवेदन हामीसँग छ । तर, मन्त्रालय स्वयंले गठन गरेको समितिको प्रतिवेदन छैन । थोरै अलमल भएकाले यसमा के हो त भनी खुलाइदिई निर्देशन पाऊँ भनेर पत्र पठाएका हौँ,’ राखेप स्रोतले भन्यो ।
निर्देशनात्मक पत्र पठाएको मन्त्रालयले अख्तियारबाट आएको पत्र भने पठाएको छैन । ‘मन्त्रालयले निर्देशन दिएपछि क्यानलाई नपठाउने भन्ने कुरा भएन । तर, त्यसमा स्पष्ट (क्लियर) भएन,’ स्रोत भन्छ ।
राखेप सदस्यसचिव रामचरित्र मेहताले प्राविधिक कारणले पत्र मन्त्रालयमै फर्काइएको जानकारी दिए । ‘उहाँहरूको पत्रमा प्राविधिक कारण थियो । त्यही भएर फर्काएको हो,’ उनले भने ।
मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले मन्त्रिस्तरीय निर्णयअनुसार राखेपलाई क्यानसँग कागजपत्र मागेर छानबिन गर्नु भनी पत्र पठाएको जानकारी दिए ।
‘छानबिन गर्ने कुराहरू अगाडि बढ्न नसकेर रोकिराखेको थियो । राखेपलाई उनीहरूसँग कागजपत्र मागेर छानबिन गर्नु भनेको थियो । राखेपमा त्यही प्रकृतिको उजुरी अख्तियारले तामेलीमा राखिसकेको भन्ने पत्र आएको रहेछ,’ उनी भन्छन्, ‘उजुरी फरक-फरक छन् ।
मन्त्रालयबाट भइरहेको छानबिन फरक हो । त्यही प्रकृतिको उजुरी तामेलीमा राखिसकेकोले के-कसो गरौँ भनेर राखेपबाट पत्र आएको छ ।’
अब मन्त्री पोखरेलसँग छलफल गरेर निर्णय लिने सूचना अधिकारी पराजुलीले बताए । उनी भन्छन्, ‘मन्त्रालयबाट केही निर्णय भएको छैन । मन्त्रीज्यूसँग सल्लाह गरेर र मन्त्रालयमा छलफल गरेर केही टुङ्गो लाग्ला ।’
राखेपले क्यानको उजुरी अख्तियारले तामेलीमा गएको भनेर जवाफ फर्काएपनि मन्त्रालयले भने राखेपको उजुरी र मन्त्तालयले छानविन गरेको उजुरी फरकफरक रहेको दाबी गरेको छ ।
