सर्लाही, ०५ जेठ । जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवामा नागरिकता बनाउन आउने सेवाग्राहीले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।

कार्यालयमा अत्यधिक भिडभाड हुने गरेका कारण सेवा प्रवाह प्रभावित बनेको छ भने सर्वसाधारण घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

नागरिकता बनाउने, प्रतिलिपि लिने तथा अन्य प्रशासनिक सेवा लिन आउने सेवाग्राहीको चाप अत्यधिक हुँदा बिहानैदेखि कार्यालय परिसरमा लामो लाइन लाग्ने गरेको छ ।

सेवाग्राहीका अनुसार नागरिकता बनाउन दुईदेखि तीन दिनसम्म लाग्ने गरेको छ । बिहान ९ बजे कार्यालय पुगेका सेवाग्राहीले साँझ ५ बजेसम्म पनि नागरिकता प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

कार्यालयमा कर्मचारी अभाव, सेवा प्रवाहमा ढिलासुस्ती तथा व्यवस्थापन कमजोर भएका कारण समस्या झन् बढ्दै गएको सेवाग्राहीको आरोप छ ।

टाढादेखि आएका सर्वसाधारण, विद्यार्थी, ज्येष्ठ नागरिक तथा महिलाहरू बढी प्रभावित भएका छन् । कतिपय सेवाग्राहीले काम नहुँदा पुनः अर्को दिन आउनुपर्ने अवस्था रहेको बताएका छन् ।

सेवाग्राहीले समयमै सेवा नपाउँदा दैनिक कामकाज प्रभावित हुनुका साथै आर्थिक भारसमेत बढेको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *