सर्लाही, ०६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको दुःखमा सँगै रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी केन्द्रीय सत्तामा नभए पनि हामी मूल शक्ति हो । जिल्ला, क्षेत्रीय, नगर समिति सिमानामा ज्यादती हुँदा सडक, सिमानामा हातमा प्लेकार्ड बोकेर उभिनुपथ्र्यो ।
नागरिकले दुःख पाएको ठाउँमा नागरिकको पक्षमा उभिनुपर्छ,’ थापाले भने, ‘सार्वजनिक जग्गा अतिक्रमण भएको छ । वन अतिक्रमण भएको छ ।
हठात लखेटेर नागरिकको आत्मसम्मान हुँदैन । राति सुतिरहेको मान्छेलाई बिहान डोजर ल्याएर भत्काएर, कुनाकाप्चामा लखेटेको छ । खल्तीमा १०–१५ हजार हाल्देर कसरी मान्छ ?’
सरकारले दिएको दुःखमा कांग्रेस नागरिकसँग उभिनुपर्ने उनको भनाइ छ । ‘हामी समुदायसँग सँगसँगै छौँ कि छैनौँ यो मुख्य हो ।
गलत प्रवृत्तिविरुद्ध उभिनैपर्छ,’ थापाले भने । कांग्रेस सहभागी भएका प्रदेश सरकार र स्थानीय संरचनाले पनि नयाँ ढंगले काम गर्नुपर्ने उनको भनाइ छ ।
