सर्लाही, ०७ जेठ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा एसईईको नतिजा सार्वजनिक भएसँगै नागरिकता बनाउन आउने विद्यार्थीको भीड बढेको छ ।

उच्च शिक्षा अध्ययन, छात्रवृत्ति आवेदन तथा विभिन्न शैक्षिक प्रक्रियाका लागि आवश्यक कागजात जुटाउन विद्यार्थीहरू प्रशासन कार्यालय पुग्न थालेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले पछिल्ला दिनमा दैनिक सयौं विद्यार्थी नागरिकता र मधेशी प्रमाणित बनाउन आउने गरेको बताए ।

“अधिकांश विद्यार्थी छात्रवृत्ति र भर्ना प्रक्रियाका लागि आवश्यक कागजात बनाउन आएका हुन्,” उनले भने, “चाप बढेपछि बिहानैदेखि कर्मचारी परिचालन गरेर सेवा प्रवाह गरिरहेका छौं ।”

कार्यालयका अनुसार हिजो बुधबार मात्रै १९३ वटा नागरिकता वितरण गरिएको थियो । त्यसमध्ये ११३ नयाँ नागरिकता र ८० प्रतिलिपि नागरिकता रहेका छन् ।

नेपाली नागरिकता प्राप्त गर्न १६ वर्ष उमेर पूरा हुनुपर्ने कानुनी व्यवस्था रहेकाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू अहिले नागरिकता बनाउन सक्रिय भएका हुन् ।

प्रशासनले आवश्यक कागजात पूरा गरेर मात्र आउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

सेवाग्राही व्यवस्थापनका लागि प्रशासकीय अधिकृत कृष्ण देव राय, अनिलकुमार यादव तथा अतिरिक्त जनशक्तिका रूपमा विशाल कुमार चौधरी लाई खटाइएको कार्यालयले जनाएको छ ।

कविलासी नगरपालिका–३ मदनपुरका १६ वर्षीय विद्यार्थी कुन्दन साहले छात्रवृत्ति आवेदनका लागि नागरिकता आवश्यक परेकाले बिहानैदेखि लाइनमा बसेको बताए ।

 “अब प्लस टु पढ्न छात्रवृत्तिको फाराम भर्नुपर्छ, त्यसका लागि नागरिकता चाहिन्छ,” उनले भने ।

यता बलरा नगरपालिका–२ हथियौलका प्रमोदकुमार सिंह ले विद्यार्थीको चापका कारण अन्य सेवाग्राहीलाई सेवा लिन कठिनाइ भइरहेको गुनासो गरे ।

“प्रतिलिपि नागरिकता लिन बिहानैदेखि लाइनमा बसेको छु, कहिले बन्छ टुंगो छैन,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *