सर्लाही, ०७ जेठ । टाले विश्वभरका आफ्ना करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यसबाट करिब ८ हजार कर्मचारी प्रभावित हुने जनाइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि सुरु गरिएको कर्मचारी कटौती तीन चरणमा गरिनेछ । प्रभावित कर्मचारीहरूलाई स्थानीय समयअनुसार बिहान ४ बजेदेखि जानकारी दिन थालिएको बताइएको छ ।

हालसम्म कम्पनीको इन्टेग्रिटी टीम जसले हानिकारक सामग्री र घृणात्मक अभिव्यक्ति हटाउने काम गर्छ, साथै साइबर सुरक्षा र कन्टेन्ट डिजाइन विभागका कर्मचारी प्रभावित भएका छन् । यो जानकारी बिजनेस इन्साइडरले दिएको हो ।

अमेरिकामा कार्यरत प्रभावित कर्मचारीहरूले १६ साताको सेभरेन्स सुविधा पाउनेछन् । साथै कम्पनीमा काम गरेको प्रत्येक वर्षका लागि थप दुई साताको तलब पनि दिइने मेटाले जनाएको छ ।

ह्वाट्सएप, फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले ६ हजार नयाँ कर्मचारी भर्ना गर्ने योजना रद्द गरेको छ। साथै ७ हजार कर्मचारीलाई एआई सम्बन्धी भूमिकामा स्थानान्तरण गरिने बताइएको छ ।

मार्क जुकरबर्ग नेतृत्वको कम्पनीमा कर्मचारी मनोबल खस्किएको खबरहरू पनि सार्वजनिक भइरहेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार मेटाले आफ्नै एआई मोडल प्रशिक्षणका लागि कर्मचारीहरूको गतिविधि ट्र्याक गर्ने कार्यक्रम सुरु गरेपछि विवाद बढेको हो ।

रिपोर्टअनुसार १५ सयभन्दा बढी कर्मचारीले कम्पनीले आफ्ना डाटा संकलन नगर्न माग गर्दै निवेदनमा हस्ताक्षर गरेका छन् ।

वायर्डसँग कुरा गरेका एक नीतिगत कर्मचारीले अमेरिकी कर्मचारीहरू “आफ्नै ठाउँ लिन आउने एआई मोडल प्रशिक्षणका लागि प्रयोग भइरहेका” कारण मनोबल घटेको बताएका छन्।

कर्मचारीहरूको वार्षिक तलबवृद्धि कटौती हुनु र औसत कुल पारिश्रमिक करिब ३० हजार अमेरिकी डलरले घट्नु पनि असन्तुष्टिको अर्को कारण बनेको उल्लेख गरिएको छ ।

ब्लुमबर्ग बिलिनेयर्स सूचकांकअनुसार विश्वका छैटौं धनी व्यक्ति रहेका जुकरबर्ग एआई क्षेत्रमा ठूलो लगानी गरिरहेका छन्। मेटाको “सुपरइन्टेलिजेन्स” पहल पनि यसैअन्तर्गत पर्छ ।

कम्पनीको पूँजीगत खर्च यस वर्ष १२५ अर्बदेखि १४५ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ, जुन सन् २०२५ को तुलनामा दोब्बरभन्दा बढी हो ।

अप्रिलमा आयोजित आम्दानीसम्बन्धी छलफलमा जुकरबर्गले भनेका थिए, “हामी मानिसहरूले महत्त्व दिने कुरामा लगानी गरिरहेका छौं, र भविष्यमा मानिसहरू अझ महत्त्वपूर्ण हुनेछन् भन्नेमा हामी विश्वास गर्छौं ।”

गोल्डम्यान साक्सको हालैको सर्वेक्षणअनुसार एआई–प्रेरित कर्मचारी कटौतीका कारण यस वर्ष प्रत्येक महिना १६ हजारभन्दा बढी रोजगारी घटिरहेका छन् ।

यसैबीच सिस्कोले पनि करिब ४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । सिस्को नेटवर्क हार्डवेयर, सफ्टवेयर, दूरसञ्चार उपकरण र अन्य उच्च–प्रविधि सेवाहरूको विकास र बिक्री गर्ने कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *