सर्लाही, ०८ जेठ । हालसालै अस्ट्रेलियाका नेपालीबारेमा एक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदन सन् २०२५ को अप्रिलबाट सन् २०२६ को अप्रिलसम्मको अध्ययन गरेर बनाइएको हाे ।
स्नेहा घिमिरे, धमेन्द्रप्रसाद लेखक र अखिलेश उपाध्यायले लेखेको ५६ पृष्ठको प्रतिवेदनमा विभिन्न रोचक तथ्यहरू आएका छन् । अस्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा व्यापार मन्त्रालयले आर्थिक सहयोगमा तयार पारिएकाे रिपोर्टका अनुसार सन् १९७१ देखि १९८० मा ४९ जना मात्रै नेपालमा जन्मेका थिए । तर, सन् २०२५ जुनसम्म नेपाली मुलका अस्ट्रेलियाली नागरिकको संख्या २ लाख १३ हजार ५ सय ८० छ । यो भनेको सन् २०१४ को भन्दा चार गुणा धेरै हो ।
सन् २०१४ मा अस्ट्रेलियामा नेपाली मुलकाहरूको आँकडा ४२ हजार ९ सय थियो । सबैभन्दा धेरै नेपालीको अस्ट्रेलिया प्रस्थान नेपालमा संविधान बनेपछिका ६ वर्षमा भएको देखिएको छ जसको हिस्सा आधाभन्दा धेरै अर्थात् ५८.५ प्रतिशत छ । सन् २०१६ र २०२१ को बीचमा साे संख्याका नेपाली अस्ट्रेलियामा पुगेका थिए ।
सन् १९९० सम्म केही उच्चस्तरिय छात्रवृत्ति र पढ्नको लागि पुगेका केही थिए । तर, सन् १९९० पछि अस्ट्रेलियाले दक्षिण एसियाली नागरिकलाई स्वागत गर्न थालेपछि जाने चलन बढेको प्रतिवेदनमा उल्लेख छ ।
अर्को रोचक पक्ष अस्ट्रेलियामा व्यवसायका लागि जानेहरू १ प्रतिशतभन्दा कम छ । ०.२८ प्रतिशत मात्रै व्यवसायका लागि जाने गरेको पाइएको छ भने प्राविधिक विषय पढ्न जानेको आँकडा ३.२३ प्रतिशत देखिएको छ ।
यस्तै, पढ्न भनेर जाने ६१.१६ प्रतिशत, विवाह, सन्तान, आमाबुबाको रूपमा जाने २२.९८ प्रतिशत, नयाँ अवसरको खोजीमा १०.७३ प्रतिशत र अन्य प्रयोजनका लागि १.६१ प्रतिशत जाने देखिएको छ । अस्ट्रेलियामा पुगेका पुरुष ६०.७९ प्रतिशत र महिला ३९.१२ प्रतिशत देखिएको छ ।
