सर्लाही, ८ जेठ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता फाँटमा केही दिनयता सेवाग्राहीको अत्यधिक भीड बढेपछि व्यवस्थापन गर्न कठिन हुन थालेको छ ।
दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला नागरिकता फाँटमा सेवाग्राहीको चाप ह्वात्तै बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे आफैँ तोक लगाउनेदेखि सदर गर्नेसम्मको काममा खटिनुभएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजापछि छात्रवृत्तिलगायत विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने भएकाले अधिकांश विद्यार्थी नागरिकता बनाउन एकैपटक आउन थालेसँगै भीड व्यवस्थापन गर्न मुस्किल परेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले गोरखापत्रलाई बताउनुभयो ।
भीड बढेर कार्यालयका कर्मचारीले मात्र धान्न नसक्ने अवस्था आएपछि कारागार कार्यालय मलङ्गवाका जेलर एवं शाखा अधिकृत विशाल चौधरीलाई समेत अस्थायी रूपमा जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा खटाइएको छ ।
त्यति गर्दा पनि सहायक प्रमुख जिल्ला अधिकारी, जेलर र कार्यालयमा कार्यरत अन्य दुई शाखा अधिकृतलाई दिनभर नागरिकता फाँटको काममै व्यस्त रहनुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक १४० भन्दा बढी नयाँ र ८० भन्दा बढी प्रतिलिपि नागरिकता जारी भइरहेको कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मात्रै १४१ वटा नयाँ र ८६ वटा प्रतिलिपि नागरिकता जारी गरिएको छ ।
केही पालिकाका सीमित वडाबाहेक जिल्ला प्रशासन कार्यालयले जिल्लाका २० मध्ये १६ वटा पालिकाका बासिन्दालाई नागरिकता सेवा प्रदान गर्दै आएको छ । एकैपटक अत्यधिक भीड बढ्दा नागरिकता बनाउन आएका सेवाग्राही लामो समयसम्म पालो कुर्न बाध्य भएका छन् ।
जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि नागरिकता बनाउन आउने सेवाग्राहीको चाप बढेको कर्मचारीले बताएका छन् ।
