सर्लाही, ८ जेठ । निजामती कर्मचारीहरूका ट्रेड युनियनमाथि प्रतिबन्ध लगाएको सरकारले अधिकृत तहमाथिका कर्मचारीहरूको एनजीओलाई भने प्रधानमन्त्री कार्यालयले मान्यता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैरसकारी संस्थाका रूपमा दर्ता भएको न्यायपालिका अधिकृत समाजलाई संविधान संशोधनका लागि लिखित सुझाव मागेर सरकारले आधिकारिकता दिएको हो ।

प्रधानमन्त्री असिम शाह नेतृत्वको संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलले एनजीओको रूपमा रहेको न्यायपालिका अधिकृत समाजलाई मान्यता दिएकोमा न्यायपालिकामा क्रियाशील ट्रेड युनियनहरूले भने आपत्ति जनाएका छन् ।

नेकपानिकट राष्ट्रिय कर्मचारी संगठनका नेताहरुले त न्यापालिका अधिकृत समाजलाई कांग्रेस र एमालेको भातृ संगठन भनेका छन् । न्यापालिका अधिकृत समाजमा पनि दुई दलका मान्छे अटाएको उनीहरुको आरोप छ ।
समाजका अध्यक्ष उच्च अदालतको न्यायाधीश भएर गएपछि हाल उपाध्यक्ष निराजन पाण्डेले नेतृत्व गरिरहेको उक्त संस्थामा सहसचिव तहसम्मका उच्च अधिकृतहरु सदस्य छन् ।
सरकारको कार्यदलले माग गरेबमोजिमको लिखित सुझाव दिन आज बिहानैदेखि अधिकृत समाजका नेताहरु बैठक बसेका छन् । उक्त समाजले समग्र न्यायपालिका र यसमा कार्यरत राष्ट्रसेवकको प्रतिनिधित्व नगर्ने भन्दै विवाद भएको छ ।
न्यायपालिकामा कार्यरत हरि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- यदि कुनै संस्था दलगत प्रभाव, गुटीय स्वार्थ वा अवैधानिक नियन्त्रणमा चलेको छ भने त्यसबाट प्राप्त सुझावले न्यायिक स्वतन्त्रता, तटस्थता र पेशागत मर्यादालाई कमजोर बनाउने जोखिम रहन्छ ।
विशेषतः संविधान संशोधनजस्तो गम्भीर र दीर्घकालीन प्रभाव पार्ने विषयमा प्रतिनिधित्वको वैधता र पारदर्शिता अत्यन्त महत्वपूर्ण हुन्छ ।
त्यस्तै अर्का अधिवक्ता सुजन राईले सरकारले द्वेध चरित्र देखाएको टिप्पणी गरेका छन् ।
