सर्लाही, ८ जेठ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत काम गर्ने कसैलाई पनि जनताले प्रतिनिधि नबनाएको बताएका छन्।

प्रधानमन्त्री बालेन शाहले सदनप्रति जवाफदेही नभएको आरोप लागिरहेको बेलामा उनले विधिको शासन सबैले पालना गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री शाहका समर्थकलाई लक्षित गर्दै अन्धभक्तको गन्तव्य निराशा भएको बताएका छन्।

उनले भनेका छन्, ‘अन्धभक्त हुन जति सजिलो छ, सत्य कुरा बोलेर आलोचनाको सामना त्यति नै गारो छ, जसका लागि ठुलो आट र आत्मविश्वास चाहिन्छ । अन्धभक्तको गन्तव्य निराशा हो भने रचनात्मक आलोचनाको गन्तव्य आशा हो ।’

उनको भनाइ जस्ताको त्यस्तै-

१. देश संविधान अनुसार चल्छ,

२. विधिको शासन भनेको संविधान र कानुन अनुसार देश चल्नु हो,

३. हामीले देशमा खोजेको सबै भन्दा ठुलो विषय नै विधिको शासन हो,

४. हाम्रो देशको संविधान र कानुन भन्दा माथि कुनै पद वा व्यक्ति छैन र हुनु पनि हुँदैन, त्यसो भयो भने संविधान अनुसार चलेको मानिँदैन ।

५. राम्रो काम गर्नेले झनै बढी विधिको पालना गर्नु पर्दछ, विधिको पालना राज्यका प्रमुख पदहरूमा रहनेले गर्ने देशमा मात्र सुशासन कायम हुन सक्दछ । देशको मूलीबाट विधि मिचियो भने बुझ्नु पर्छ कि त्यो सक्नेलाई छुट भन्ने अर्थ लाग्छ । यही नै पतनको पाइला हो ।

६. यो संविधान अन्तर्गत रहेर जनताबाट निर्वाचित जनप्रतिनिधि भएको र संविधान अन्तर्गत शपथ लिएर जिम्मेवारी लिएकाले आफूले जानेको र देखेको कानुनी व्यवस्था सबैले कार्यान्वयन गर्नु पर्छ र कानुन विपरीत कार्य हुन खोजे निरन्तर खबरदारी गर्नै पर्छ ।

हामी प्रतिपक्षमा भएकोले सरकार संविधानको संरक्षक हुनु पर्नेमा भक्षक भयो भने त्यसमा खबरदारी गर्नु पर्छ र गरिन्छ, कसले के भन्छ भन्ने कुराले हामी प्रभावित हुनु हुँदैन र भइँदैन। किनकि संविधान विपरीत काम गर्ने जनताले प्रतिनिधि बनाएका होइनन् ।

७. र, अन्तिममा बुझौँ आफूलाई मन परेको मान्छेले जे गरे पनि हुन्छ भन्ने बुझाइएका कारण विगतमा व्यापक जनमत पाएका नेता निरङ्कुश तानाशाही प्रवृत्तिमा पुगेर कसरी फेरी सबैभन्दा मन नपर्ने पात्र बन्न पुगे नेपाल र विश्वका इतिहास पढौँ, बुझौँ र सचेत बनौँ ! अन्धभक्त हुन जति सजिलो छ, सत्य कुरा बोलेर आलोचनाको सामना त्यति नै गारो छ, जसका लागि ठुलो आट र आत्मविश्वास चाहिन्छ । अन्धभक्तको गन्तव्य निराशा हो भने रचनात्मक आलोचनाको गन्तव्य आशा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *