सर्लाही, ०९ जेठ । सर्लाहीका नवनियुक्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलसँग जिल्लाका पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजित कार्यक्रममा एसपी पौडेलले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रण गर्ने, लागूऔषध कारोबार तथा तस्करी नियन्त्रणमा कडाइ गर्ने, महिला हिंसा न्यूनीकरण तथा साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रहरी र सञ्चारमाध्यमबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उल्लेख गर्दै सत्यतथ्यमा आधारित सूचना सम्प्रेषणमा जोड दिए । “प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्छ,” उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पदाधिकारी तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले प्रहरी र सञ्चार क्षेत्रबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान, अपराध अनुसन्धानमा सहकार्य तथा सार्वजनिक सरोकारका विषयमा समयमै सूचना प्रवाह हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।
एसपी पौडेलले जेठ ६ गतेदेखि जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीको प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् ।
यसअघि उनी नेपाल प्रहरी प्रधान कार्यालयको यूएन शाखा, नक्साल काठमाडौंमा कार्यरत थिए । नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौंले उनलाई जेठ १ गते सर्लाही सरुवा गरेको थियो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।
