सर्लाही, ०९ जेठ । उपसभामुख रुबीकुमारी ठाकुरले लहान नगरपालिका–१२ र २२ मा रहेको धार्मिक पर्यटकीय स्थल सलहेस फूलवारी तथा लहान–१५ स्थित राजदेवी पञ्चावती मन्दिरको भ्रमण गर्नुभएको छ ।
उहाँले शनिबार बिहान सलहेस फूलवारी पुगेर लोकनायक सलहेसको दर्शन तथा पूजाआजा गर्नुभएको हो । भ्रमणका क्रममा उपसभामुख ठाकुरले सलहेस फूलवारी मधेश मात्र नभई देशकै नमुना धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुनुपर्ने बताउनुभयो ।
उहाँले यस्तो महत्त्वपूर्ण स्थलको विकासमा पर्याप्त लगानी किन हुन नसकेको भन्ने विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गर्नुभयो ।
वीरता र प्रेमकथासँग जोडिएको सलहेस फूलवारीलाई दाइजोविनाको विवाह गर्ने स्थलका रूपमा विकास गर्न सके दाइजोमुक्त समाज निर्माणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको पहिलो बैठकमै दाइजोमुक्त समाज निर्माणका लागि आवाज उठाइसकेको छु । यो अभियानलाई निरन्तरता दिन आफ्नो हैसियतअनुसार सम्बन्धित निकायमा कुरा उठाइरहनेछु ।”
मधेशमा दाइजो प्रथाले गहिरो जरा गाडेको भए पनि सामूहिक प्रयासबाट यसको अन्त्य सम्भव रहेको उहाँको भनाइ थियो ।
उपसभामुख ठाकुरले सलहेस फूलवारी र राजदेवी पञ्चावती मन्दिरजस्ता धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयसँग पहल गरिने बताउनुभयो ।
सलहेस फूलवारी संरक्षण समितिले फूलवारी क्षेत्रको १२ बिघामध्ये तीन बिघा जग्गा अतिक्रमणमा परेको जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराई संरक्षण र विकासका लागि पहल गरिदिन उपसभामुख ठाकुरको ध्यानाकर्षण गराएको थियो ।
लहान–१५ स्थित राजदेवी पञ्चावती मन्दिरको भ्रमणका क्रममा उपसभामुख ठाकुरले त्यहाँको व्यवस्थापन र विकासको प्रशंसा गर्दै सलहेस सर्किटसँग राजदेवी मन्दिरलाई समेत जोडेर एकीकृत पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
