सर्लाही, १० जेठ । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले यस वर्षको “स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार–२०८३” बाट पत्रकार श्रवण थापालाई सम्मान गरेको छ ।

शनिबार मलङ्गवामा आयोजित महासङ्घ शाखाको १२औँ वार्षिक साधारण सभाका अवसरमा पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो । महासङ्घका केन्द्रीय सदस्य राजेश कर्ण ले थापालाई प्रमाणपत्र, दोसल्ला तथा नगद १५ हजार ५५५ रुपैयाँसहित सम्मान गरेका थिए ।

सर्लाहीलाई कर्मथलो बनाएर लामो समयदेखि सक्रिय पत्रकारितामा संलग्न रहँदै आएका थापाले समाजमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई पुरस्कार प्रदान गरिएको शाखाले जनाएको छ।

स्वर्गीय गजेन्द्र नारायण सिंहको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले विगत तीन वर्षदेखि जिल्लाका सक्रिय पत्रकार छनोट गरी प्रदान गर्दै आएको जनाएको छ ।

तत्कालीन मधेश प्रदेश प्रमुख राजेश अहिराज ले उपलब्ध गराएको ५० हजार रुपैयाँबाट स्थापना गरिएको अक्षयकोष तथा शाखाले व्यवस्थापन गरेको रकमबाट पुरस्कार राशि प्रदान गरिँदै आएको बताइएको छ।

यसैबीच, नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले शनिबार आफ्नो १२औँ वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ । कार्यक्रममा महासङ्घको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *