सर्लाही, १२ जेठ । मधेश प्रदेशमा विगत चार महिनादेखि एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव रहेको छ ।सरकारले मधेश प्रदेशका ४४ वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन ।

सरकारी अस्पतालमा निःशुल्क पाइने सो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी स्वास्थ्य संस्थाबाट महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य छन् । 

लालबन्दी नगरपालिका–१६, परवानीपुरकी लक्ष्मी रायमाझीले आफ्ना ससुरालाई कुकुरले टोकेपछि भ्याक्सिन लगाउन सोमबार नगर अस्पताल लालबन्दी पुग्दा भ्याक्सिन नपाएपछि बाहिरको औषधी पसलबाट खरिद गरेर लगाउनु परेको गुनासो गर्नुभयो । बाहिर किन्दा एक डोज एन्टिरेबिज  भ्याक्सिनलाई छ सयदेखि सात सय रुपियाँसम्म पर्छ । 

नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्दन चौधरीले एन्टिरेबिज  भ्याक्निसको प्रायः अभाव नै भइरहने गरेको बताउनुभयो ।

पछिल्लो समय गएको फागुनदेखि त भ्याक्सिनको आपूर्ति ठप्प रहेको मेसु डा. चौधरीको भनाइ छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट भ्याक्सिन आउँदा नगर अस्पतालका लागि प्रतिमहिना १२० भाइल कोटा तोकिए पनि कम आउने गरेको र आएको भ्याक्सिन केही दिनभित्रै सकिने गरेको उहाँले बताउनुभयो । एन्टिरेबिज  भ्याक्सिनका लागि मन्त्रालयमा पटक पटक पत्र लेखे पनि भ्याक्सिन नआएको मेसु डा. चौधरीले जानकारी दिनुभयो । 

प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामप्रकाश साहले प्रदेशबाटै भ्याक्सिन नआउँदा बिरामीले अत्यधिक गुनासो गर्ने गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “माथिबाटै भ्याक्सिन नआउँदा समस्या भइरहेको हुन्छ तर बिरामीलाई हामीले जानाजान भ्याक्सिन नलगाइदिएको जस्तो आव्रmोश पोख्नुहुन्छ ।”

मधेश प्रदेशका ४४ वटा स्वास्थ्य संस्थामा मासिक सात हजार पाँच सय भाइल एन्टिरेबिज खोपको कोटा रहेको छ तर सङ्घीय सरकारले कहिले दुई हजार, कहिले दुई हजार पाँच सय त कहिले पाँच हजार भाइल खोप पठाउने गरेको छ । कोटा अनुसारको भ्याक्सिन कहिलै पनि आउँदैन । 

कोटाभन्दा आधा मात्र भ्याक्सिन आउँदा अभाव भइरहेको अवस्थामा गएको फागुनदेखि त सङ्घबाटै भ्याक्सिन आपूर्ति हुन नसकेको हो । सङ्घीय सरकारले प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा एन्टिरेबिज  भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको ७५९ भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको छ । केन्द्रका निमित्त निर्देशक डा. नागेन्द्रप्रसाद यादव सङ्घबाट आपूर्ति नहुँदा मधेश प्रदेशभर नै एन्टिरेबिज  भ्याक्सिन अभाव रहेको बताउनुहुन्छ । भ्याक्सिनका लागि मन्त्रालयमा बारम्बार ताकेता गरे पनि केन्द्रमा आपूर्तिकर्ताले नै आपूर्ति नगर्दा समस्या परेको उहाँले जानकारी दिनुभयो । “यो मधेशमा मात्र नभई देशभरकै समस्या हो,” निमित्त निर्देशक डा. यादवले भन्नुभयो, “एन्टिरेबिज  भ्याक्सिनको सहज आपूर्ति कहिल्यै पनि हुनै सकेन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *