सर्लाही, १४ जेठ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तामा ७१ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत चालु खर्चको सामाजिक सुरक्षा भत्ता शीर्षकमा चैत मसान्तसम्म उक्त रकम खर्च भएको सरकारले जनाएको हो ।
सरकारले बजेटमार्फत यस शीर्षकका लागि कुल १ खर्ब ९ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । चैतमसान्तसम्म विनियोजित बजेटको ६५.४९ प्रतिशत खर्च भएको सरकारले जनाएको छ ।
सामाजिक सुरक्षा प्रणालीलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग आवद्धता गरिएको पनि सरकारले जनाएको छ ।
बजेटमार्फत सरकारले संघीय सरकारबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमहरूमा प्रदेश र स्थानीय तहबाट रकम थप गर्न र उस्तै प्रकृतिका कार्यक्रम मार्फत दोहोरो सुविधा दिन नपाइने व्यवस्था गरेको थियो ।
सामाजिक सुरक्षा सुविधाको एकीकृत प्रतिवेदन प्रणालीको विकास गर्ने भनिएकोमा उक्त सिस्टमलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग आवद्धता गरिएको सरकारले जनाएको छ ।
