सर्लाही, १४ जेठ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको धारणा माग गरेको छ ।
आज बसेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरी आयोगको प्रतिवेदनप्रति पार्टीको धारणा माग गर्दै सरकारको धारणा माग गरेका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिश बारे सरकारले आफ्नो जवाफदेहितालाई अंगीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गर्नु पर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि थप शंका उब्जाएको बताएको छ ।
‘हामी स्मरण गराउन चाहन्छौँ, विगतको सरकारले भदौ २३-२४ गते भएको आन्दोलनको जाँचबुझ गरी सत्यतथ्य पत्ता लगाउन गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको हामीले भनेका थियौँ, यसलाई राष्ट्रिय मानव अधिकार आयोगको यो प्रतिवेदनले समेत अपर्याप्त देखाएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय मानव अधिकार आयोगले स्वयं जाँचबुझ आयोगकै अध्यक्षमाथि दोष देखाएको र निजमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेकोले कार्की आयोगको प्रतिवेदन निष्पक्ष हुने देखिएन र कार्की आयोगको प्रतिवेदन आम चुनाव हुनुपूर्व सार्वजनिक नगर्नुमा नियोजित उद्देश्य रहेको हाम्रो शङ्कालाई बल पुर्याएको छ ।’
कांग्रेसले जेनजी आन्दोलनपछिको सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको कार्की आयोगको अधुरो अपूर्ण तथा सीमित अनुसन्धानलाई मानव अधिकार आयोगको यो प्रतिवेदनले समेत अपर्याप्त देखाएको र स्वयं आयोगकै अध्यक्षमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएकोमा सरकारले यस सम्बन्धमा तत्काल अनुसन्धान सुरु गर्नुपर्ने बताएको छ ।
