सर्लाही, १५ जेठ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हिरासत मुक्त भए पनि अनुसन्धान भने जारी नै छ ।

ओली–लेखक हिरासत मुक्त भएपछि अनुसन्धान सकियो भन्ने बुझाइ गलत रहेको र अहिले पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले यो प्रकरणको अनुसन्धान जारी रहेको बताएका छन् ।

‘हिरासतबाट छुट्ने बित्तिकै अनुसन्धान नै सकियो भन्ने खालको बुझाइ होला । तर त्यस्तो होइन । प्रहरीले अनुसन्धानका लागि गर्नुपर्ने कामहरू निरन्तर गरिरहेको छ । उहाँहरूमाथिको अनुसन्धान जारी छ,’ प्रवक्ता भट्टराईले भने ।

आम बुझाइ जस्तै यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खड्काले संसद्‌मा यो सवाल उठाएकी थिइन् । जेनजी आन्दोलनका घाइते र शहीदको रगतलाई सरकारले बिर्सेको हो ? भनेर उनले प्रश्न गरेकी थिइन् । जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाइन्छ ? भन्दै उनले संसद्‌मा प्रश्न गरेकी थिइन् ।

प्रहरीले भने अनुसन्धान निरन्तर गर्दै प्रमाण संकलनका कामहरू भइरहेको बताएको छ । १३ दिनको हिरासत बसाइपछि अदालतको आदेशअनुसार ओली–लेखक २६ चैतमा रिहा भएका थिए । त्यस यताका दिनहरूमा प्रहरीले क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा)का फुटेजहरूबाट प्रमाण संकलनको काम गरिरहेको बताएको छ ।

उच्च स्रोतका अनुसार अनुसन्धान चाँडो सक्न प्रहरीलाई दबाबसमेत रहेकाले अहिले परिसरले काम गरिरहेको छ ।

अहिले प्रहरीले लास जाँच मुचुल्का तथा शव परीक्षण लगायतका सम्बन्धित कागजात अध्ययन गर्ने सीसीटीभी फुटेज संकलन एवं विश्लेषण गर्ने काम भइरहेको बताएको छ । त्यस्तै, सम्बन्धित व्यक्ति तथा प्रत्यक्षदर्शीसँग बुझ्ने काम भइरहेको एसपी भट्टराई बताउँछन् ।

प्रमाण संकलनको काम भइरहेको र मुद्दा दर्ता भएको अवस्थामा मुद्दा भने बलियो हुनेमा अनुसन्धान अधिकारीहरू नै शंका गर्छन् । ‘हाम्रोतर्फको काम त गरिरहेका छौं । भोलि मुद्दा नै दर्ता भएको अवस्थामा पनि कति बलियो हुन्छ भन्ने भने शंका छ,’ ती अनुन्धान अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *