सर्लाही, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (सोमबार) भारत पुगेका छन् ।
उनलाई स्वागत गर्न भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल पुगेका थिए ।
भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा टोली भारत पुगेको हो। भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।
रास्वपाका अनुसार लामिछाने जेठ २२ सम्म भारत भ्रमणमा रहनेछन् । भ्रमणका क्रममा नयाँ दिल्लीमा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीति भेटघाट गर्नेछन् ।
साथै भारतमा बस्ने नेपाली समुदाय तथा पार्टी शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यसबीच लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ ।
