सर्लाही, १८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका  विद्युतीय सवारीसाधन आयात भएका छन् । 

गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । 

गत आवको १० महिनामा यो नाका हुँदै रु एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत रु ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो । 

चालु आवको १० महिनामा रु एक अर्ब ८७ करोड मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

त्यसवापत रु एक अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको १० महिनामा भने रु दुई करोड छ लाख मूल्य पर्ने छ वटा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो ।

यस्तै, चालु आवको १० महिनामा रु एक अर्ब १७ करोड मूल्य पर्ने आठ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा रु ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ ।

गत आवको सोही अवधिमा रु करोड ९६ लाख मूल्य पर्ने चार हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए । ती सवारीसाधनको आयातबाट मात्रै रु २० करोड १५ लाख राजस्व सङ्कलन भएको थियो । 

यो नाका हुँदै चालु आवको १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्य पर्ने इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो । 

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु नौ अर्ब ६५ करोडअर्थात् ४४ दशमलव ५८ प्रतिशतले बढेको छ ।

चालु आवको १० महिनामा वीरगञ्ज हुँदै रु एक अर्ब २५ करोड मूल्य पर्ने छ सय २८ वटा जीप, कार र भ्यानको आयात भएको छ । त्यसवापत कार्यालयले रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ ।

जबकी गत आवको सोही अवधिमा  रु एक अर्ब ८१ करोड मूल्य पर्ने आठ सय ५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए ।

यस्तै, चालु आवको १० महिनामा रु सात अर्ब ३२ करोड मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन् ।

त्यसवापत रु सात अर्ब नौ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु पाँच अर्ब २१ करोड मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *