सर्लाही, १९ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ललितपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै ‘मिसन मोड’ मा काम गरेर असाधारण परिणाम निकाल्ने दाबी गर्नुभयो ।

अर्थमन्त्री डा. वाग्लेले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन, वातावरण र खरिद ऐनलगायतका क्षेत्रमा एक महिनाभित्रै महत्त्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो ।

उहाँले आउँदा दिनमा थप ३० देखि ३५ वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको स्पष्ट पार्नुभयो । अहिले बजारमा देखिएको शिथिलता र सङ्कुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ ।

यसैबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षको बजेटले देशको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको पोस्ट बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको १ लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको जिकिर गर्नुभयो ।

१० लाख रुपैयाँसम्मको आयकर छुटलाई ‘क्रान्तिकारी’ कदमको संज्ञा दिँदै उहाँले यसबाट बजारमा मुद्रा प्रवाह बढ्ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयबाट सरकार पछि नहट्ने तर यसको भार उपभोक्तामा पर्न नदिने गरी विकल्पहरू खोजिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

साउन १ गतेदेखि विद्युत् नियमन आयोगमार्फत मूल्य समायोजन गर्ने वा विपन्नका लागि निःशुल्क युनिटको सीमा बढाएर उपभोक्तालाई राहत दिइने उहाँको तर्क छ ।

विद्युतीय गाडीको सन्दर्भमा ५० लाख रुपैयाँमुनिका गाडीको मूल्य घट्ने र सडक निर्माण दस्तुर आधा गरिने उहाँले जानकारी दिनुभयो ।

विलासी विद्युतीय गाडीको हकमा भने विदेशी विनिमय सञ्चितिको सन्तुलन मिलाउन र प्रगतिशील करको सिद्धान्तअनुसार कर निर्धारण गरिएको उहाँले बताउनुभयो ।

पूँजीबजारको हकमा लगानीकर्ताको मागअनुसार करको दरमा स्पष्टता ल्याइएकाले अब अन्योल समाप्त भएको डा. वाग्लेले बताउनुभयो ।

उहाँले यो बजेट केवल अङ्कहरूको सँगालो मात्र नभई आउँदो ५ वर्षका लागि तय गरिएको नीतिगत दिशा भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *