काठमाडौँ, २० जेठ । बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन् । यद्यपि अझै मृतक एकिन भइसकेको छैन ।
दिल्ली अग्नि सेवा र स्थानीय बासिन्दाका अनुसार, मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो । आगो रेस्टुरेन्ट माथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो । छ जनाभन्दा बढीलाई बेसमेन्टबाट पनि बाहिर निकालिएको छ ।
सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ ।
स्थानीय बासिन्दाले भाग्न मद्दत गर्न भुइँमा गद्दा पनि राखेका छन् । अहिलेसम्म ३७ जनालाई उद्धार गरिएको छ, जसमध्ये धेरै जना गम्भीर अवस्थामा छन् ।
दिल्लीको यो होटलमा कसरी आगलागी भयो भन्ने कुरा अझै अज्ञात छ ।
