सर्लाही, २१ जेठ । सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा बोलाइएका एक स्थानीयमाथि प्रहरी जवानले कुटपिट गरेको छ। प्रहरीको कुटाइबाट धनकौल गाउँपालिका–५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका हुन् ।
दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।
उक्त निवेदनका सम्बन्धमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयबाट इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरिएको थियो ।
पीडित दासका अनुसार बुधवार दिउँसो आफू श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ प्रहरीले पत्रमा हस्ताक्षर गर्न भन्यो । तर विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि आफूलाई एउटा कोठामा लगेर प्रहरी जवान रामजीवन पासवानले बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप उनले लगाएका छन् ।
कुटपिटबाट उनको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ । घाइते दासलाई बरहथवास्थित हनुमन्त हस्पिटलमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको छ ।
यता, इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्रको एक कोठामा दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गर्दै सोही क्रममा कुटपिटको घटना भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताउदै दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको प्रारम्भिक जानकारी आएको बताए ।
उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
