सर्लाही, २१ जेठ । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदामा गएर सेवामा नफर्किएकाहरूबाट १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको छ ।

सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट उक्त रकम फिर्ता भएको हो ।

‘उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने हाम्रो अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिभुवन विश्वविद्यालयको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ ।

यससँगै थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका छन्,’ मन्त्री पोखरेलको भनाइ छ ।

अध्ययन बिदामा गएर नफर्किँदा सार्वजनिक स्रोत, राज्यको लगानीको दुरूयोग भएको उनले बताए ।

‘अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष अवसर हो ।

सार्वजनिक स्रोत र राज्यको लगानीबाट प्राप्त उक्त सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षति समेत पुर्‍याएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *