सर्लाही, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ ।
बिहीबार साँझ लामिछाने र गोरबिच दिल्लीमा भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको रास्वपा स्रोतले जनाएको छ ।
रास्वपा सभापति लामिछाने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा यही जेठ १८ गते दिल्ली गएका थिए ।
यसबिचमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायत थुप्रै उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् ।
बिहीबार दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रम सकेर उनी साँझ उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन् ।
लखनउ विमानस्थलमा ओर्लिँदा उनलाई उत्तर प्रदेशका उपमुख्यमन्त्री योगी आदित्यनाथ महाराज लगायत भारतीय जनता पार्टी (भाजपा) का नेताहरुले स्वागत गरेका छन् ।
पाँच दिन लामो भारत भ्रमण सकेर आज लामिछाने स्वदेश फर्किने तालिका छ ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।
