सर्लाही, २२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार)देखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्नेछ ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।

मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसैबीच, परराष्ट्रमन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् । नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उनले ती आकांक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।

क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा उठाइरहेको उल्लेख गर्दै उनले विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।

स्थानीय सरकारलाई बलियो बनाउनु नै विकासका कार्यक्रम र सामाजिक क्षेत्रका गतिविधिलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *