सर्लाही, २२ जेठ । सर्वसाधारणको हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्ने २६ वर्षीय रोशन पहाडी र डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २५ वर्षीय सुभाष ओझा रहेका छन् । प्रहरीले पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी अनुसन्धानका अनुसार पीडित कान्छी लामाको नाममा वि.सं. २०७० असोज २ गते एउटा सिमकार्ड जारी भएको थियो । लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोल्दा सोही मोबाइल नम्बर प्रयोग गरी मोबाइल बैंकिङको सुविधा लिएकी थिइन् । उक्त नम्बर प्रयोग गरिरहेकै अवस्थामा करिब ६ वर्षपछि उनको सिमकार्ड हराएको थियो ।

सोही हराएको नम्बर वि.सं. २०७८ चैत १२ गते रोशन पहाडीको नाममा जारी भएको देखिएको छ । सिमकार्ड पुनः सक्रिय भएपछि कान्छी लामाको बैंक खातामा जम्मा भएको रकमको सन्देश पहाडीको मोबाइलमा आउन थालेको थियो । 

त्यसपछि पहाडी र ओझाले मिलेर सोही नम्बरबाट कुमारी बैंकको मोबाइल बैंकिङ सेवा सुरु गरे । उनीहरूले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी बैंक खातामा रहेको रकम विभिन्न ईसेवा, खल्ती र अन्य व्यक्तिहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाएर रकम झिक्ने गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *