काठमाडौं, २५ जेठ । युद्धविरामको ठीक २ महिनापछि इरान र इजरायलबीच फेरि युद्ध सुरु भएको छ । इरान समर्थित हिज्बुल्लाहलक्षित गरी इजरायलले लेबनानको राजधानी बेरुतमा हमला गरेपछि इरानले इजरायलको तेल अभिभमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्सले ‘अपरेशन नसर’ सुरु गर्दै इजरायलका दुई प्रमुख रणनीतिक सैन्य अखडाहरू नेभाटिम र तेल नोफलाई निशाना बनाएसँगै इरान–इजरायल युद्ध चर्किने संकेत देखिएको हो ।
पछिल्ला केही सातादेखि अमेरिका र इरानबीच सम्झौताको कोसिस भइरहँदा इजरायलले युद्धविरामका बाबजुद लेबनानमाथि लगातार हमला गरिरहेको थियो ।
इरानको इस्लामिक सेना आईआरजीसीले लेबनानमाथिको हमलाको जवाफमा इजरायलमाथि हमला गरेसँगै इजरायलमा साइरन बज्न सुरु भएको थियो ।
इरानी हमलाको डरका कारण इजरायली नागरिकहरू तत्कालै बंकरमा लुक्न बाध्य भएका थिए ।
इजरायली डिफेन्स फोर्स आईडीएफले कुनै अलर्ट प्राप्त हुनासाथ तत्काल सुरक्षित स्थानमा जान आम मानिसलाई आग्रह गरेको छ । इजरायलले टेलिग्राममा इरानले इजरायलको पश्चिमी र मध्य क्षेत्रमा हमला गरेको उल्लेख गरेको थियो ।
तर त्यसको केही समयमै इरानले निशाना बनाएका क्षेत्रबारे इरानी सञ्चारमाध्यम प्रेस टीभीले भिडियो जारी गरेको छ ।
इरानले निशाना बनाएको नेभाटिम एयरबेस इजरायलको दक्षिणी क्षेत्र नेगेभ मरुभूमिका रहेको छ । जहाँ इजरायली पायु सेनाको अत्याधुनिक एफ–३५ लडाकु विमान तैनाथ गरिएका छन् ।
यसअघि अक्टोबर २०२४ को अपरेशन ट्रु प्रोमिसमा पनि इरानले यो एयरबेसलाई मुख्य निशाना बनाएको थियो ।
यस्तै तेल नोफ इजरायलको मध्य क्षेत्र रेहोभोट नजिक रहेको सबैभन्दा पुरानो र प्रमुख हवाई अखडामध्ये एक हो ।
यो बेसमा स्ट्राइक फाइटर, ट्रान्सपोर्ट हेलिकोप्टर र मुख्य रूपमा मावनरहित हवाई स्क्वाड्रनहरू राखिएका छन् ।
यो घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई जवाफी हमला नगर्न आग्रह गर्दै सम्झौताको चरणमा रहेकाले संयमता अपनाउन भनेका थिए ।
तर ट्रम्पको आग्रहलाई बेवास्ता गर्दै इजरायलले केही घन्टाभित्रै इरानको राजधानी तेहरान, तबरिज र इस्फहानलाई निशाना बनाएर जवाफी हमला गरेको छ ।
आईआरजीसीका अनुसार इजरायलले इरानमाथिको हमलामा एयर लञ्च ब्यालिस्टिक मिसाइल प्रयोग गरेको थियो । इजरायलले इरानको यो हमलालाई आफ्नो सैन्य पूर्वाधारमाथि भएको हमला भन्दै रक्षात्मक र प्रतिशोधात्मक जवाफ भएको भएको दाबी गरेको छ ।
इजरायली हमलासँगै इरानले राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलसहित देशको हवाई क्षेत्र बन्द गरेको छ । युद्ध चर्किने संकेतपछि इराकले ७२ घन्टा र सिरियाले १२ घन्टाका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् ।
इजरायलले बेरुतमाथि हमला गरेसँगै सुरु भएको पछिल्लो हमलाको शृङ्खलामा दुवै देशका मुख्य सैन्य तथा ऊर्जा क्षेत्र निशानामा परेका छन् ।
इरानले इजरायली सैन्य अड्डालाई निशाना बनाएसँगै इजरायलले पनि इरानको खुजेस्तान प्रान्तको मासशहरमा रहेको कारुन पेट्रोकेमिकल कम्पनीमा हमला गरेको छ । केही तस्वीरमा प्लान्ट परिसरमा धुँवा उठेको देखिएको छ । इजरायली सेनाले पनि यो हमलाको पुष्टि गरेको छ ।
इजरायली सेना प्रमुख मेजर जनरल एयाल जमिरले आफूले सैन्य अभियानको निगरानी गरिरहेको बताएका छन् । साथै उनले लगातार अवस्थाको समीक्षा गरिरहेको समेत उल्लेख गरेका छन् ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) का अनुसार एयाल जमिर र अन्य शीर्ष सैन्य अधिकारीहरूले पछिल्ला केही घन्टादेखि सुरक्षा अवस्थाको आकलन गरिरहेको र इरानमा चलिरहेको अपरेशनको कमाण्ड सम्हालिरहेको जनाएको छ ।
इजरायली सेनाले एयर डिफेन्स सिस्टमले खतरालाई रोक्ने काम गरिरहेको जनाएको छ ।
‘द टाइम्स अफ इजरायल’ को रिपोर्टअनुसार जेरुसेलम, तेल अभिभ र मध्य इजरायल आसपासका क्षेत्रमा चेतावनीका साइरन बजेका थिए । यसअघि आईआरजीसीले भने पुरै एक साताका लागि आक्रमणको सुरुवात भइरहेको बताएको थियो ।
इरानले इजरायलले आक्रामक कारबाही दोहोर्याएमा ठूलो मात्रामा हमला हुने इजरायलसँगै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा समेत निशानामा पर्नसक्ने जनाएको छ । इरानले अमेरिका र इजरायलमाथि युद्धविराममा उल्लेखित र आफैँले हस्ताक्षर गरेर लागू गरेका वाचा पूरा नगरेको आरोप लगाएको छ ।
इरानले इजरायलमाथि हमला गरिरहेका बेला साउदी अरबको अल–खर्ज एयरबेसमा समेत हमला भएको छ । तर इरानले यो क्षेत्रमा सैन्य कारबाही गरेको समाचारको खण्डन गरेको छ ।
इरानी समाचार प्रसारक आईआरआईबीका अनुसार एक सैन्य अधिकारीले इरानले अल–खर्ज एयरबेसमा कुनै गोली वा मिसाइल प्रहार नभएको जनाएका छन् ।
योसँगै साउदी अरबको राजधानी रियादस्थित सुल्तान एयरबेसमा पनि शक्तिशाली हमलाको आवाज सुनिएको थियो । इरान र इजरायलबीच ताजा भिडन्त यस्तो समयमा भएको छ, जतिबेला अमेरिका र इजरायलबीच नै युद्धविरामलाई लिएर तनाव बढेको छ ।
सैन्य तनाब र आक्रमणका शृङ्खलाहरूले समग्र क्षेत्रको अवस्थालाई थप जटिल र संवेदनशील बनाएको छ ।
अमेरिकी सिनेटर क्रिस मर्फीले इरानसँगको यो सैन्य टकराबलाई राष्ट्रपति ट्रम्प र अमेरिकी शक्तिका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् ।
उनले इरानमाथिको हमलासँगै उत्पन्न अवस्थाले ट्रम्पको विदेश नीतिको असफलता, शक्तिको ह्रास, रणनीतिक विफलता, आर्थिक प्रभावसँगै रुसलाई फाइदा हुने टिप्पणीसमेत गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अमेरिका र इरानबीच हुने कुनै सम्झौतालाई स्वीकार्नुको विकल्प नभएको दाबी गरिरहेका छन् ।
उनले इरान र इजरायलबीच पछिल्ला दिनमा जारी तनावले अमेरिकासँगको वार्ता प्रक्रिया अवरुद्ध नहुने टिप्पणीसमेत गरका छन् । उनले युद्धबारे नेतान्याहुले नभई आफैँले सबै निर्णय गर्ने बताएका छन् ।
इरान र इजरायलबीच सुरु भएको पछिल्लो युद्धसँगै सोमबार एसियाली बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । ग्लोबल बेन्चमार्क ब्रेन्टको मूल्य २.६ प्रतिशतले बढेर ९५.५० डलर प्रतिब्यारेल भएको छ भने अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेर ९२.७५ डलर प्रतिब्यारेल भएको छ ।
२८ फेब्रुअरीमा अमेरिका र इजरायलले हमला गरी इरानका सर्वोच्च नेता, रक्षामन्त्री र सेनाप्रमुखसहित दर्जनाको हत्या गरेको थियो । यसको केही दिनपछि नै हिज्बुल्लाहले खामेनेईको हत्याको बदला लिने भन्दै इजरायलमाथि हमला सुरु गरेको थियो ।
८ मार्चमा उनका छोरा मोजतबा खामनेई नयाँ सर्वोच्च नेता बने । यो युद्धमा इरानले पनि अमेरिकाका केही शक्तिशाली र अत्याधुनिक हतियार खसालिदिएको छ । ७ अप्रिलमा इरान र अमेरिकाबीच युद्धविराम सम्झौता भए पनि पूर्ण रूपमा पालना हुन सकेन ।
युद्धविरापछि वार्ता र सम्झौताका सर्त, होर्मुजमाथिको नियन्त्रण, इरानको परमाणु कार्यक्रमजस्ता विषयमा सहमति हुन नसकिरहेका बेला फेरि युद्ध सुरु भएको हो ।
