सर्लाही, २६ जेठ । चीनका राष्ट्रपति सी चिनफिङले चीन र उत्तर कोरियाले राजनीतिक विश्वासको आधारलाई अझ मजबुत बनाउँदै व्यावहारिक सहकार्यको स्तर उकास्नुपर्ने बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, सीले कोरियाली नेता  किम जोङ उनसँगको वार्ताका क्रममा यस्तो बताएका हुन् ।

सीले सात वर्षपछि प्योङयाङ भ्रमण गर्न पाउँदा अत्यन्त खुसी लागेको र यहाँ आफूलाई आत्मीय तथा परिचित वातावरण महसुस भएको बताए ।

उनले नयाँ युगमा चीन–उत्तर कोरिया सम्बन्धलाई रणनीतिक रूपमा मार्गनिर्देशन गर्दै समयानुकूल विकास गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन किमसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

यसबाट दुवै देशका जनता लाभान्वित हुने र क्षेत्रीय तथा विश्व शान्ति, स्थिरता, विकास तथा समृद्धिमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो ।

सीले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीनले चीन–उत्तर कोरियाबीचको परम्परागत मित्रतालाई उच्च महत्त्व दिने आफ्नो अडान नबदल्ने, किमको नेतृत्वमा उत्तर कोरियाको समाजवादी अभियानलाई समर्थन गरिरहने र दुवै देशका साझा हित तथा अनुकूल रणनीतिक वातावरणको संरक्षणमा प्रतिबद्ध रहने स्पष्ट पारे ।

सीका चार प्रस्ताव

दुई देशबीचको सम्बन्ध विकासका लागि सीले चार प्रस्ताव अघि छन् । उत्तर कोरियाको भ्रमणमा किमसमक्ष ती प्रस्ताव राखेका हुन् । 

१.उच्चस्तरीय आदानप्रदानमार्फत राजनीतिक विश्वास सुदृढ गर्ने

सीले दुवै देशका शीर्ष नेताहरूबीचको रणनीतिक मार्गनिर्देशन चीन–उत्तर कोरिया सम्बन्धको सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले किमसँग निकट रणनीतिक संवाद कायम राख्दै सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

यस वर्ष चीन–उत्तरकोरिया मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सव परेको उल्लेख गर्दै उनले भव्य स्मृति कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए ।

उनले दुवै पार्टीबीच विभिन्न तह र क्षेत्रमा मैत्रीपूर्ण आदानप्रदान विस्तार गर्न, पार्टी तथा राज्य सञ्चालनसम्बन्धी अनुभव साटासाट गर्न र कूटनीति, कानुन कार्यान्वयन तथा सैन्य क्षेत्रमा सहकार्य बढाउन आग्रह गरे ।

२.जनहितलाई केन्द्रमा राखी व्यावहारिक सहकार्य विस्तार गर्ने

सीले चीन विकास रणनीतिहरूको समन्वय गर्दै व्यापार, कृषि, निर्माण, विज्ञान–प्रविधि र स्वास्थ्यजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न तयार रहेको बताए ।

सीमाना पूर्ण रूपमा पुनः खुला भएको तथा नागरिक उड्डयन र अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन भएको अवसरमा जनस्तरको आदानप्रदान बढाउन पनि उनले आह्वान गरे ।

३. परम्परागत मित्रतालाई निरन्तरता दिने

चीन र उत्तर कोरियाबीचको रगतले गाँसिएको परम्परागत मित्रता दुवै देशका जनताको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनले यसलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताए ।

४. निष्पक्षता र न्यायका आधारमा रणनीतिक समन्वय सुदृढ गर्ने

सीले मानव जातिको साझा भविष्य निर्माण गर्ने अवधारणा तथा आफ्ना चार विश्वव्यापी पहलहरूले विश्व शासन व्यवस्थालाई अझ न्यायपूर्ण र समतामूलक दिशातर्फ लैजान खोजेको बताए । उनले यी अवधारणाले डीपीआरकेसहित अन्तर्राष्ट्रिय समुदायबाट व्यापक समर्थन प्राप्त गरेको उल्लेख गरे ।

सबैभन्दा सम्मानित अतिथि

किम जोङ–उनले सीलाई उत्तर कोरियाका जनताको ‘सबैभन्दा सम्मानित अतिथि’ भन्दै स्वागत गरे ।

सात वर्षपछि भएको सीको भ्रमण र यस वर्षको पहिलो विदेश भ्रमणका रूपमा प्योङयाङ रोज्नुले चीन–उत्तर कोरिया सम्बन्धप्रतिको उनको विशेष महत्व र दुई देशबीचको गहिरो मित्रता झल्काएको किमले बताए ।

उनले चीन–उत्तर कोरिया सम्बन्ध अटुट रहेको र सधैँ इतिहासको सही पक्षमा उभिएको बताए । दुवै देश केवल छिमेकी मात्र नभई साझा आदर्श, विश्वास र गहिरो परम्परागत मित्रताले जोडिएको उनको भनाइ थियो ।

किमले चीनको विकास उपलब्धिको प्रशंसा गर्दै सीको नेतृत्वमा चीनले विश्वलाई चकित पार्ने प्रगति गरेको र आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा उल्लेखनीय रूपमा बढाएको बताए ।

उनले उत्तर कोरियाले एक चीन सिद्धान्तलाई दृढ समर्थन गर्ने र चीनका मूलभूत हितहरूको संरक्षणसम्बन्धी नीति तथा अडानमा साथ दिने पनि बताए ।

ऐतिहासिक महत्त्वको भ्रमण

सी सोमबार राजकीय भ्रमणका लागि प्योङयाङ पुगेका थिए । प्योङयाङस्थित किम सोङ स्क्वायरमा सीको सम्मानमा भव्य स्वागत समारोह आयोजना गरिएको थियो । २१ तोपको सलामीका बीच चीन र डीपीआरकेका राष्ट्रिय गान बजाइएका थिए । त्यसपछि सी र किमले सैनिक परेडको अवलोकन गरेका थिए ।

आर्थिक तथा जनस्तरको सम्बन्ध

हालका वर्षहरूमा चीन–डीपीआरके आर्थिक तथा व्यापारिक सहकार्य सकारात्मक दिशामा अघि बढिरहेको छ । चिनियाँ सरकारी तथ्यांकअनुसार सन् २०२५ मा द्विपक्षीय व्यापार २ अर्ब ७३ करोड ५० लाख अमेरिकी डलर पुगेको थियो ।

जनस्तरको सम्पर्क पुनःस्थापनातर्फ पनि उल्लेखनीय प्रगति भएको छ । मार्च १२ मा चीनको दाङदोङबाट अन्तर्राष्ट्रिय यात्रुवाहक रेल प्योङयाङ पुगेको थियो । मार्च ३० मा चीनको राजधानी बेइजिङबाट आएको विमान प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै दुई देशबीचको हवाई सेवा पुनः सञ्चालन भएको थियो ।

यसै वर्षको मे महिनाको प्रारम्भमा चीनका १६ विश्वविद्यालयबाट छनोट भएका ७० सरकारी छात्रवृत्ति प्राप्त विद्यार्थीहरू किम सोङ विश्वविद्यालयलगायत उत्तरकोरियाका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन गर्न प्योङयाङ पुगेका थिए ।

सीले भ्रमणअघि प्रकाशित लेखमा चीन–डीपीआरके सम्बन्ध नयाँ ऐतिहासिक प्रारम्भिक बिन्दुमा पुगेको, नयाँ अवसरहरू सामना गरिरहेको र नयाँ युगीन जिम्मेवारी बोकेको उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *