सर्लाही, २६ जेठ । संसद्मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूले उनलाई करका दर हेरफेर भएको विषयमा प्रश्न सोधेका थिए ।
जवाफमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले भने, ‘अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनुभएको छ । त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’
आर्थिक विधेयकमा रहेका करका दर आफूखुसी हेरफेर गरेपछि यो विषयमा संसद्मा समेत प्रश्न उठिरहेको छ । खासगरी विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् र संसदीय छानबिन समिति गठन सम्मको मागको विषय उठेको छ ।
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।
अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए ।
उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ छ । अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ छ ।
अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।
संसद पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।
संसद्का जानकारहरूका अनुसार संसद्मा पेश भइसकेको विधेयकमा संशोधन गर्न संसद्को अनिवार्य स्वीकृति चाहिन्छ । संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने हुन्छ । संसद्मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।
यसबारेको प्रश्नमा भने सरकारका प्रवक्ता पोखरेलले अर्थमन्त्री वाग्लेले मेहनत गरेर राम्रो बजेट ल्याएको भन्दै बचाउ गरेका हुन् ।
