सर्लाही, २६ जेठ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले सुख्खा सहन सक्ने जातका धान लगाउन किसानलाई आग्रह गरेको छ ।
यस वर्ष मनसुन ऋतुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएकाले मन्त्रालयले यस्तो सुझाव दिएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको फेरबदल र सम्भावित खडेरीको जोखिमलाई ध्यानमा राख्दै सुख्खा–१, सुख्खा–२, सुख्खा–३, सुख्खा–४, सुख्खा–५ र सुख्खा–६ जस्ता जातका धान छनोट गर्न सिफारिस गरिएको छ ।
यी जातहरूले पानीको अभावमा पनि उत्पादन क्षमता कायम राख्ने भएकाले खडेरीको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
मन्त्रालयका बाली विकास अधिकृत रविन बस्नेतले यस वर्ष अनियमित वर्षा र लामो खडेरी हुन सक्ने प्रक्षेपण गरिएकाले कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने धानका जात लगाउन जोड दिइएको बताउनुभयो ।
उहाँले किसानलाई परम्परागत विधिमा मात्र निर्भर नबसी आकाशे पानी सङ्कलन गर्ने तथा खेतबारी नजिक पोखरी निर्माण गरी वर्षाको पानी सङ्कलन गरेर प्रयोग गर्न पनि सुझाव दिनुभयो ।
उहाँका अनुसार सुख्खा तथा हिले छरुवा धान खेती, पालैपालो भिजाउने र सुकाउने प्रविधि तथा सघन धान खेतीजस्ता विधि अपनाउँदा कम सिँचाइमा पनि उत्पादन वृद्धि गर्न सकिन्छ । यी प्रविधिले पानी मात्र होइन, लागत पनि घटाउने उहाँको भनाइ छ ।
बस्नेतले मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै कृषि प्राविधिकसँगको समन्वयमा मात्र बिउबिजन र प्रविधि छनोट गर्न अनुरोध गर्नुभयो। जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा प्रत्यक्ष देखिन थालेकाले समयमै सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ (धनुषा) का वैज्ञानिक विश्वासराज बास्तोलाले प्रतिकूल मौसमका कारण हुने खडेरीलाई ध्यानमा राख्दै सुक्खा सहन सक्ने धानका जात विकास गरिएको बताउनुभयो ।
उहाँका अनुसार रोपाइँको समयमा पानी नपर्ने र रोपाइँ नभएको बेलामा पानी पर्ने जस्ता अनियमित मौसमका कारण कम सिँचाइ हुने क्षेत्रका लागि सुख्खा–१ देखि ६ सम्मका जात विकास गरिएको हो ।
उहाँले भन्नुभयो, “वर्षा नभएको बेला परम्परागत धान सफल हुँदैन । अहिलेको बदलिँदो मौसम अनुसार अनुकूल प्रजाति रोज्नुपर्छ। सुख्खा धानका जात त्यही सन्दर्भमा तयार गरिएको हो । यसले कम पानीमै राम्रो उत्पादन दिन्छ ।”
वैज्ञानिक बास्तोलाका अनुसार सुख्खा धानका जात नेपाल कृषि अनुसन्धान परिषद् र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाको सहकार्यमा विकास गरिएको प्रजाति हो ।
यी जातले प्रतिहेक्टर ३.५ देखि ४.५ टनसम्म उत्पादन दिन सक्ने क्षमता राख्छन् । सामान्य रूपमा एक किलो धान उत्पादन गर्न २ देखि ५ हजार लिटर पानी आवश्यक पर्ने भए पनि सुख्खा जातका धानले कम पानीमै उत्पादन दिने उहाँको भनाइ छ ।
उचित प्रचारप्रसारको कमीका कारण यो जातका बारेमा जानकारी किसानसम्म राम्रोसँग नपुगेको उहाँले बताउनुभयो ।
गत वर्ष लामो खडेरीका कारण ३ लाख ७२ हजार ६४५ हेक्टर धान रोपाइँ हुने क्षेत्रमध्ये ३ लाख १९ हजार ६२६ हेक्टरमा मात्र रोपाइँ भएको थियो ।
