सर्लाही, २६ जेठ । वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मंगलबार मध्याह्नदेखि बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशीको माथिल्लो क्षेत्रमा अत्याधिक वर्षा भइरहेको छ ।

माथिल्लो क्षेत्रमा भएको वर्षाका कारण रोशीमा पानीको सतह बढेको र जोखिम पनि बढेको उनको भनाइ छ । रोशीमा पानीको सतह बढ्दै गएपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा सञ्चालन हुने सम्पूर्ण प्रकारका सवारीसाधनको आवागमन तत्कालका लागि रोक लगाइएको बताए ।

उनका अनुसार रोशीको चारसयबेशीनजिक पहिरो समेत गएको छ । विष्टले पानीको बहाव कम तथा चारसयबेशीको पहिरो पन्छाएरपछि मात्रै सडक खुल्ने जानकारी दिए ।

अहिले राजमार्ग हुँदै जाने सवारीलाई जिल्लास्थित धुलिखेलमा र सिन्धुली जिल्लासँग सहकार्य गरेर खुर्कोट र नेपालथोकमा होल्ड गरिएको विष्टको भनाइ छ ।

सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *