काठमाडौं, २६ जेठ ।  पेरुको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरण (रनअफ) मा वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजले दक्षिणपन्थी नेतृ केइको फुजिमोरीमाथि झिनो मतको अग्रता बनाएका छन् ।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै समय लाग्ने देखिएको छ।

अल जजिराका अनुसार, हालसम्म गणना भएका मतहरूमा यसअघि कायम रहेको फुजिमोरीको अग्रता तोड्दै सान्चेजले अत्यन्तै कम अन्तरले अग्रता लिएका छन् ।

निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको र मतान्तर न्यून रहेकाले विजेताको टुंगो केही दिनसम्म पनि नलाग्न सक्ने अनुमान गरिएको छ ।

सान्चेजलाई ग्रामीण क्षेत्र, श्रमिक वर्ग तथा सामाजिक परिवर्तनको पक्षमा रहेका मतदाताको समर्थन प्राप्त भएको मानिन्छ ।

उनी पेरुमा आर्थिक असमानता घटाउने, सार्वजनिक सेवामा लगानी बढाउने तथा प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीको अधिक हिस्सा सर्वसाधारणसम्म पु¥याउने एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।

यता, पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी तथा दक्षिणपन्थी नेतृ केइको फुजिमोरीले निजी क्षेत्रको प्रवर्द्धन, लगानीमैत्री नीति र सुरक्षा व्यवस्थालाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएकी छन् ।

उनले वामपन्थी नीतिले पेरुको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने चेतावनी दिँदै आएकी छन् ।

यदि सान्चेजको अग्रता कायम रह्यो भने पेरुले फेरि एकपटक वामपन्थी नेतृत्व चयन गर्नेछ, जबकि फुजिमोरी विजयी भएमा देश दक्षिणपन्थी राजनीतिक धारतर्फ फर्किनेछ ।

त्यसैले यो निर्वाचनलाई पेरुको भविष्यको आर्थिक तथा राजनीतिक मार्ग निर्धारण गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

पेरुको माओवादी आन्दोलन दबाउने दक्षिणपन्थी नेता अल्बर्टो फुजिमोरीकी छोरी उनी यसअघि ३ पटक उम्मेदवार बनेर पराजित भएकी थिइन् । सान्चेज भने त्यहाँको कम्युनिस्ट पार्टीका सांसद हुन् ।

बीबीसीको विश्लेषणअनुसार पेरुको वामपन्थी आन्दोलन अहिले ‘सामाजिक रूपमा बलियो तर राजनीतिक रूपमा विभाजित’ अवस्थामा छ । यसको ठीक विपरीत दक्षिणपन्थी शक्ति तुलनात्मक रूपमा संगठित देखिन्छ ।

त्यसैले वामपन्थ मुख्य प्रतिस्पर्धी शक्ति त हो, तर अहिलेको अवस्थामा फराकिलो स्पष्ट अग्रता उसँग नभएकाले जित निश्चित भने भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *