सर्लाही, २६ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारले नेपाल सरकारबाट ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम अनुदान तथा राजस्व बाँडफाँटबाट पाउने भएको छ ।
संघीय सरकारद्वारा सार्वजनिक बजेट तथा वित्तीय हस्तान्तरण विवरणअनुसार मधेश प्रदेशले समानीकरण अनुदान अन्तर्गत ७ अर्ब ८४ करोड ८५ लाख र राजस्व बाँडफाँट मार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
सशर्त अनुदान शीर्षकमा ८ अर्ब १० करोड, विभिन्न विकास आयोजना तथा कार्यक्रम सञ्चालनका लागि विशेष अनुदान अन्तर्गत ७० करोड रुपैयाँ तथा समपूरक अनुदान अन्तर्गत ९४ करोड रुपैयाँ संघीय सरकारबाट उपलब्ध गराइने जनाइएको छ ।
समग्रमा मधेश प्रदेशले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष, सम्पूरक अनुदान तथा राजस्व बाँडफाँट गरी कुल ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।
यी अनुदान तथा राजश्व बाँडफाँट बाहेक प्रदेशको आन्तरिक श्रोत मिलाएर आगामी आर्थिक वर्षका लागि बजेट तयार पार्ने गरी तयारी भइरहेको अर्थमन्त्री युवराज भट्टराइले जनाएको छ ।
प्रदेश सरकारका लागि प्राप्त हुने यी स्रोतहरू पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा अन्य सार्वजनिक सेवा प्रवाहका कार्यक्रम सञ्चालनमा खर्च गरिने अपेक्षा गरिएको छ ।
