सर्लाही, २६ जेठ । सर्लाहीको कबिलासी नगरपालिका-८ अगर्वामा भएको सवारी दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीमाथि हातपात गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति करिब ९ बजे नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत अगर्वामा पार्किङ गरी राखिएको ना ६ ख ७६२३ नम्बरको ट्रकलाई ज १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अवस्थामा ट्याक्टर धनी कबिलासी नगरपालिका-१० सलेमपुर निवासी अशोक कुमार यादव नेतृत्वको समूहले प्रहरीमाथि हातपात गरेको र नियन्त्रणमा रहेको ट्याक्टरसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा सलेमपुर निवासी १९ वर्षीय विक्रमकुमार यादव र २१ वर्षीय प्रियांशु यादवलाई पक्राउ गरिएको छ ।

उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

घटनापछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीमाथि हातपात गरेको आरोप लागेका मुख्य व्यक्ति अशोककुमार यादव भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *