सर्लाही, २७ जेठ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्पत्ति सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुने पर्याप्त आधार र प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ ।
समितिले आफ्नो प्रतिवेदनमा गुरुङले पेस गरेको सम्पत्ति विवरण, विभिन्न सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, स्थानीय तह र अन्य सरोकारवाला निकायबाट प्राप्त कागजात तथा तथ्यांकको अध्ययन–विश्लेषण गरेको जनाएको छ ।
प्रतिवेदनअनुसार गुरुङले आर्जन गरेको आयका आधारमा विभिन्न कम्पनीमा लगानी तथा सेयर खरिद गरेको देखिए पनि प्राप्त सूचना, प्रमाण र विवरणको समग्र विश्लेषण गर्दा गैरकानुनी सम्पत्ति आर्जन भएको पुष्टि हुने अवस्था नदेखिएको समितिले जनाएको छ ।
समितिले गृहमन्त्री नियुक्त हुँदा सार्वजनिक गरिएको सम्पत्ति विवरण र त्यसपछिको अवधिमा भएका सम्पत्तिसम्बन्धी विवरणको समेत तुलना गरेको थियो ।
सो क्रममा सार्वजनिक वृत्तमा गुरुङको सम्बन्धमा उठाइएका आरोप तथा प्रश्नहरू सत्यतथ्यमा आधारित रहेको पुष्टि गर्न पर्याप्त प्रमाण प्राप्त नभएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।
छानबिनका क्रममा प्राप्त सूचना, तथ्यांक, विज्ञहरूको राय, सरोकारवाला पक्षसँगको छलफल तथा लिखित बयानका आधारमा समितिले सम्बन्धित निकायलाई आवश्यक सुझावसमेत सिफारिस गरेको जनाएको छ ।
