सर्लाही, २९ जेठ । सिरहाको गोलबजार क्षेत्रमा सिँचाइका लागि प्रयोग हुँदै आएको विद्युत ट्रान्सफर्मर चोरी भएपछि किसानहरु प्रभावित भएका छन् ।

खेतीपातीको मुख्य समयमा विद्युत आपूर्ति अवरुद्ध हुँदा करिब ३ सय बिघा खेतीयोग्य जमिन बाँझो रहने जोखिम बढेको स्थानीय किसानहरूले बताएका छन् ।

गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएको थियो ।

स्थानीयका अनुसार उक्त ट्रान्सफर्मरबाट सिमरा चौर क्षेत्रका २ सयदेखि ३ सय किसानले सिँचाइका लागि विद्युत सेवा लिँदै आएका थिए ।

स्थानीय किसान दुर्गेश कुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसानहरू समस्यामा परेको बताए ।

उनका अनुसार अहिले डिजेलबाट चल्ने पम्प वा अन्य स्रोतको सहारा लिनुपर्ने अवस्था बनेको छ, जसले खेतीको लागत बढाउनेछ ।

किसान रामपृत यादवले खेतीपाती नै आफ्नो परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताए । दुई बिघा जमिनमा खेती गर्दै आएको बताउने यादवले सिँचाइ अभावले उत्पादन प्रभावित हुने चिन्ता व्यक्त गरे ।

अर्का किसान लक्ष्मण यादवले खेतमा रोपाइँका लागि तयार गरिएको बीउसमेत पानी अभावका कारण नष्ट हुने अवस्था आएको बताए । उनले सिँचाइ सुविधा तत्काल पुन:स्थापना गर्न सम्बन्धित निकायसँग माग गरे ।

प्रभावित किसानहरूले नेपाल विद्युत प्राधिकरण, स्थानीय तह तथा अन्य सम्बन्धित निकायलाई शीघ्र नयाँ ट्रान्सफर्मर जडान गरी सिँचाइ व्यवस्था सुचारु गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *