सर्लाही, ३० जेठ । शुक्रबार रातिदेखि तनावग्रस्त बनेको बर्दिबास नगरपालिका–१२, विजलपुरा क्षेत्रस्थित डाँडाटोलमा अवस्था थप तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार बिहान अवस्था थप तनावपूर्ण बनेपछि करिब १० बजे प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थलमा तोडफोड र अराजकता बढेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको हो । उहाँले भन्नुभयो, “अहिले बिजलपुराको अवस्था तुलनात्मक रूपमा सामान्य भएको छ । घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।”
अश्रुग्यास प्रहारपछि भिड केही समय तितरबितर भए पनि पुनः भिड जम्मा भएको छ । भिड बढ्दै जाँदा प्रहरीलाई घटनास्थलको मुचुल्का गर्नसमेत कठिनाइ भएको छ ।
विवाहित महिलाको शङ्कास्पद रूपमा घरभित्रै पासो लगाएर मृत्यु भएको घटनालाई लिएर शुक्रबार रातिदेखि डाँडाटोल तनावग्रस्त बनेको हो । राति नै घटनास्थल पुगेका माइती पक्षले ढुङ्गामुढा, तोडफोड तथा आगजनी प्रयास गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।
प्रहरी र सशस्त्र प्रहरीको टोलीले रातिदेखि नै घटनास्थललाई सुरक्षा घेरामा राखेको छ ।
प्रहरीका अनुसार शुक्रबार करिब ८ बजे डाँडाटोल निवासी शशी सिंहकी २५ वर्षीया श्रीमती रिङ्कुकुमारी सिंह आफ्नै दुईतले पक्की घरको सुत्ने कोठामा सिलिङ फ्यानमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेकी हुन् ।
माइती पक्षले भने रिङ्कुको घरका सासु, ससुरा र श्रीमान्ले कर्तव्य गरी हत्या गरेको आरोप लगाएका छन् । मृतक रिङ्कुको एक काखे छोरी रहेको छ ।
जानकारी पाएलगत्तै गौशाला नगरपालिका–११ कान्तिबजारबाट घटनास्थल पुगेका माइती पक्षले ससुरा रामबाबु सिंह, श्रीमान् शशी सिंह र सासुलाई पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । माइती पक्षको विरोधमा स्थानीयसमेत उत्रिएपछि स्थिति झन् तनावग्रस्त बनेको थियो ।
आक्रोशित भिडले ससुरा रामबाबु सिंहको घरमा रहेको प्र.०४–००१ च. ०३१० नम्बरको कार, एउटा स्कुटरमा तोडफोड तथा आगजनी प्रयास गरेको तथा दुई तले घरमा ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि समेत ढुङ्गामुढा भएपछि केही सुरक्षाकर्मी सामान्य घाइते भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार घटनास्थलबाट मृतकका श्रीमान् शशी सिंहलाई नियन्त्रणमा लिइएको छ ।
तर माइती पक्ष तथा स्थानीयले फरार रहेका सासु र ससुरालाई पक्राउ नगरिएसम्म शव उठाउन र मुचुल्का गर्न नदिने अडान लिएका छन् । यस समाचार तयार पार्दासम्म डाँडाटोलको अवस्था सामान्य हुन सकेको छैन । माइती पक्षको समर्थनमा उभिएका स्थानीयले “हत्या नभएको भए सासु र ससुरा किन फरार भए” भन्ने प्रश्न उठाएका छन् ।
वडाध्यक्ष रामकिशोर साहले घटनाले गम्भीर प्रश्न उठाएको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता दुखद घटना धेरै घरमा भएका छन् । हामी अवस्था सामान्य बनाउन प्रयासरत छौं । तर घटनापछि परिवारका सदस्य फरार भएपछि शङ्का स्वाभाविक रूपमा बढ्छ ।”
स्थानीयका अनुसार मृतक रिङ्कुकुमारीलाई वर्षदिनअघि श्रीमान् शशी सिंहले लुकीछिपी दोस्रो विवाह गरेपछि मानसिक तथा शारीरिक यातना दिँदै आएको आरोप छ । यही कारण परिवारमा विवाद र कलह बढेको तथा विरोध गर्दा हत्या गरिएको माइती पक्षको दाबी छ ।
