सर्लाही, ३० जेठ । रु रिपब्लिकको २०५औँ स्वतन्त्रता दिवस तथा नेपाल–पेरु कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना गरिएको छ ।
शुक्रबार साँझ आयोजित उक्त समारोहमा भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र नेपालका लागि पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालले संयुक्त रूपमा आतिथ्यता गरेका थिए ।
समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुखहरू, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पाउलिनिचले नेपाल र पेरुबीचको पाँच दशक लामो सम्बन्ध मित्रता, आपसी सम्मान र सौहार्दपूर्ण सहकार्यमा आधारित रहेको बताए ।
हिमालय र एन्डिज पर्वत शृङ्खलाले दुवै देशको जनजीवन र संस्कृतिलाई प्रभावित गरेकाले नेपाल र पेरुबीच विशेष आत्मीयता रहेको उनको भनाइ थियो ।
राजदूत पाउलिनिचले पर्वतीय भौगोलिक अवस्थाले सिर्जना गरेका चुनौती र अवसरहरूको सामना गर्न दुवै देशले प्राप्त गरेका अनुभवहरू सहकार्यका लागि महत्त्वपूर्ण आधार भएको बताए ।
उनले राजनीतिक संवाद, आर्थिक तथा व्यापारिक आदानप्रदान, शैक्षिक तथा सांस्कृतिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई अझ सुदृढ बनाउन पेरु प्रतिबद्ध रहेको स्पष्ट पारे ।
साथै, उनले दुई देशबीच उच्च पहाडी कृषि, जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पर्वतीय तथा ग्रामीण पर्यटन, नवीकरणीय ऊर्जा र दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको औँल्याए ।
सो अवसरमा नेपाल सरकारका तर्फबाट पेरुको स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाइएको थियो ।
