सर्लाही, ३० जेठ । चना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा बोल्दै उनले मुलुक भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्क सँगसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास समानान्तर रूपमा आवश्यक रहेको बताए । 

‘कला साहित्य भनेको कुनै राष्ट्रको बल हो, पहिचान हो,’ मन्त्री तिमिल्सिनाले भने, ‘भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।’

उनले पछिल्लो समय सामाजिक सञ्जाल पनि साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए । 

साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दीगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

सञ्चारमन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गरे ।

समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै अन्य क्षेत्रमा काम गर्दा आफूलाई पनि साहित्यिक चेत र अध्ययनले निरन्तर सहयोग गरेको अनुभव सुनाए ।

उनले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था, साहित्यिक तथा सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बर्ता । 

समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले संस्थागत कार्यशैली, व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताए ।

उनले भने,‘सरकार व्यवस्थापक मात्रै हो, सरकारसँग भएको रकम पनि जनताकै रकम हो । त्यसैले जनताको पैसा सही तरिकाले प्रयोग हुनुपर्छ। आर्थिक पक्षको कुरा मात्रै गरेर हुँदैन, कार्यशैलीमा पनि व्यापक सुधार आवश्यक छ ।’

विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्थाहरू कमजोर बन्न पुगेको उनको भनाइ थियो । अहिले संस्थाहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ती अवस्थाबाट माथि उठ्न सुधारको स्पष्ट मार्गचित्रसहित सरकारले काम गरिरहेको बताए ।

कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा गीता त्रिपाठीलाई सम्मान गरिएको थियो।

उनीहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

सम्मानित वरिष्ठ साहित्यकार यादव खरेलले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै साहित्यिक सिर्जना तथा पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गरे । नयाँ प्रविधिको उपयोग आवश्यक भए पनि पठन संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *