सर्लाही, ३० जेठ । सर्लाहीमा कार्यरत नेपाल प्रहरीका पाँच जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार देशभरका ५०९ जना प्रहरी निरीक्षकको सरुवा सूची सार्वजनिक गर्दा सर्लाहीका पाँच जना पनि सरुवामा परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अशोककुमार साहको नेपाल प्रहरी विशेष सुरक्षा गण, जनकपुरमा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख वीरेन्द्रसिंह जोहारी लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर काठमाडौं तथा इलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रमुख पवनजङ्ग कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकी इलाका प्रहरी कार्यालय टोकरपुर, रामेछापको प्रमुखमा तथा इन्स्पेक्टर बिन्देश्वर यादव नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबी सुनसरीमा सरुवा भएका छन् ।
सरुवासँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको प्रमुखमा इन्स्पेक्टर झलक शर्मा आउने भएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीको प्रमुखमा इन्स्पेक्टर श्याम थापा मगर र इलाका प्रहरी कार्यालय चक्रघट्टाको प्रमुखमा इन्स्पेक्टर गणेश पाण्डे आउने भएका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीको मानवस्रोत व्यवस्थापन शाखा प्रमुखमा इन्स्पेक्टर रुपेश अधिकारी तथा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा प्रमुखमा इन्स्पेक्टर सुषमा कठेतलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
