सर्लाही ३१ जेठ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ ।

मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार दिउँसो कोसी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, वाग्मती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि  छ । वाग्मती र गण्डकीका तराई क्षेत्रका साथै मधेस प्रदेशका एकदुई स्थानमा  मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोसी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना  छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । मधेस प्रदेशका एकदुई स्थानमा पनि मेघ गर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले मेघ गर्जन, चट्याङ तथा वर्षाबाट हुनसक्ने सम्भावित प्रभावलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *