सर्लाही, १ असार । रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछाने सहितका आरोपीविरुद्ध दायर मुद्दा संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप हटाएको छ ।
जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले रास्वपा सभापति लामिछानेसहितका आरोपीमाथिको अभियोग संशोधन गरेको हो ।
रुपन्देही अदालतमा लामिछानेसहितका व्यक्तिहरुका विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेकोमा इजलासको आदेशसँगै अब मुद्दा संशोधन भई सहकारी ठगी मात्रै कायम रहेको छ ।
इजलासको आदेशमा भनिएको छ– ‘मुद्दामा सहकारी ठगीको अभियोग दाबी कायमै राखी अन्य संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग दाबीको हकमा अभियोग संशोधन हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ बमोजिम यो आदेश जारी गरिदिएको छ ।’
यसअघि कास्की जिल्ला अदालतबाट पनि रास्वपा सभापति रवि लामिछानेविरुद्धको अभियोगदाबी संशोधन भएको थियो ।
