सर्लाही, ३ असार । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ ।
आउँदो साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी उहाँहरुले सरकारलाई गराउनुभएको छ । देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेर सहज वातावरणका लागि आग्रह गरेको खुलेको हो ।
नवयुवा आन्दोलनको क्रममा गएको भदौ २४ मा बूढानीलकण्ठ निवासमा प्रदर्शनकारीको आक्रमणमा परेर उहाँहरु घाइते हुनुभएको थियो । त्यसपछि थप उपचारका लागि भन्दै सिंगापुर पुग्नुभएको थियो ।
नेपाल फर्केर फेरि सिंगापुर पुगेको अनुमान छ । देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरुमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण समेत गराइएको छ ।
