काठमाडौं, ४ असार । बेलायतको ह्याम्पशायरस्थित अल्डरशटमा केही गोर्खा भूतपूर्व सैनिकमाथि भएको कथित जातीय दुव्र्यवहार र आक्रमणको घटना सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ फुटेजमा एक गोरो छालाको पुरुषले पार्कमा रहेका नेपाली समुदायका सदस्यहरूसँग आक्रामक शैलीमा विवाद गरिरहेको देखिन्छ।
त्यहाँ उपस्थित व्यक्तिहरूमध्ये ७७ वर्षीय दावा जे शेर्पा पनि थिए, जो १६ वर्षसम्म गोर्खा सैनिकका रूपमा कार्यरत रहेर फकल्याण्ड युद्धमा समेत सहभागी भएका फार्नह्याम हेराल्ड पत्रिकामा उल्लेख छ ।
त्यस्तै, ८२ वर्षीय खड्कबहादुर पुन, जसले ब्रुनाई, मलेसिया, हङकङ र बेलायतमा सेवा गरेका थिए, उनलाई पनि धक्का दिइएको र उनको मोबाइल फोनसमेत फुटाइएको बताइएको छ। उक्त घटनाका क्रममा उनको खुट्टाको कुर्कुच्चामा पनि चोट लागेको जनाइएको छ।
यो घटनापछि स्थानीय नेपाली समुदायमा आक्रोश फैलिएको छ।
फार्नह्याम हेराल्डका अनुसार, घटनापछि स्थानीय समुदाय, सामाजिक अभियन्ता र गोर्खा संगठनहरूले यसलाई गम्भीर रूपमा लिन र निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
प्रतिवेदनअनुसार, अल्डरशट क्षेत्रमा सार्वजनिक स्थानमा रहेका गोर्खा भूतपूर्व सैनिकहरूलाई लक्षित गर्दै अपमानजनक र जातीय टिप्पणी गरिएको थियो। त्यसपछि विवाद चर्किँदै जाँदा हातपातको अवस्था समेत सिर्जना भएको बताइएको छ। ती व्यक्तिले बृद्ध सैनिकहरुलाई आफ्नै देश नेपाल फर्किनु भन्दै दुर्व्यवहार गरेका थिए ।

स्थानीय गोर्खा समुदायका प्रतिनिधिहरूले ब्रिटिश सेनामा दशकौँसम्म सेवा गरेका गोर्खा सैनिकहरूमाथि हुने कुनै पनि प्रकारको जातीय विभेद अस्वीकार्य रहेको बताएका छन् ।
उनीहरूले घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।
गोर्खा आर्मी एक्स–सर्भिसम्यान अर्गनाइजेसनका अध्यक्ष कृष्णकुमार राईले यस घटनाले सम्पूर्ण समुदायलाई गहिरो रूपमा स्तब्ध बनाएको बताएका छन्।
उनले भने- हामीले बेलायतका लागि वर्षौँसम्म लड्यौँ, सेवा गर्यौँ। यस्तो अवस्थामा हामीलाई ‘आफ्नो देश फर्क’ भनिनु स्वीकार्य र खुसीको विषय हुन सक्दैन।
सन् १९८२ को फकल्याण्ड युद्धका क्रममा घाइते भएका अर्का भूतपूर्व गोर्खा सैनिक घनेन्द्र लिम्बूले नेपाली समुदायविरुद्ध यसअघि पनि यस्तै प्रकारका कथित घृणाजन्य घटनाहरू भएको बताएका छन्।
उनले भने, ‘दुर्भाग्यवश यो एकमात्र घटना होइन। दुई सय वर्षदेखि हाम्रो समुदायले बेलायतका लागि लड्दै आएको छ। गोर्खाहरूले बेलायतका लागि के योगदान गरेका छन् भन्नेबारे मानिसहरूलाई शिक्षित र सचेत बनाउन आवश्यक छ, किनकि धेरैले हाम्रो योगदानबारे पर्याप्त रूपमा बुझेका छैनन्।’
बेलायती प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि घटनालाई औपचारिक रूपमा ‘घृणाजन्य अपराध’ (hate crime) का रूपमा वर्गीकरण गरिएको छ वा छैन भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

अल्डरशटलाई लामो समयदेखि बेलायतको ‘गोर्खा सहर’ का रूपमा चिनिन्छ। हजारौँ नेपाली मूलका परिवार र ठूलो संख्यामा भूतपूर्व गोर्खा सैनिकहरू त्यहाँ बसोबास गर्दै आएका छन्।
