सर्लाही, ५ असार । सर्लाही र रौतहट जिल्लाको सिमानामा पर्ने बागमती नदीमा बाढी तथा डुबानजन्य विपद्का घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम घटना (सिमुलेसन) अभ्यास सम्पन्न गरिएको छ ।

शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिका–१ तथा सर्लाहीको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा उक्त अभ्यास सञ्चालन गरिएको हो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले विपद् व्यवस्थापनलाई परम्परागत सोचमा सीमित नराखी वैज्ञानिक, प्रविधिमैत्री तथा दीर्घकालीन योजनाका साथ अघि बढाउन आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री महतोले विपद्का बेला प्रभावकारी रूपमा जनधनको सुरक्षा गर्न सुरक्षा निकायसँगको सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले विपद्का समयमा प्रभावकारी उद्धार तथा राहत कार्य सञ्चालनका लागि यस्ता अभ्यास अत्यन्त महत्वपूर्ण हुने बताए ।

उनले विपद् व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न नियमित अभ्यास आवश्यक रहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बल राष्ट्र, नागरिक र मानवीय सेवामा सदैव समर्पित रहने धारणा व्यक्त गरे ।

बाढी तथा डुबानको उच्च जोखिम रहने क्षेत्रलाई लक्षित गरी आयोजित उक्त सिमुलेसन अभ्यासले विपद्का बेला उद्धार कार्यमा संलग्न निकायबीचको समन्वय, तयारी र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *