सर्लाही, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर जंगलीराज चलाउन खोजेको आरोप लगाएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको बताएका हुन् ।
सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायत पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ घण्टासम्म राखेर दबाब दिइएको समाचार सार्वजनिक भएका भन्दै आपत्ति जनाए ।
‘अख्तियारका अधिकारीहरूलाई ९ घण्टासम्म राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ, यो विधिको शासन हो कि जंगलीराज ? उनले भने, ‘अख्तियार कुनै प्रधानमन्त्री कार्यालय मातहतको सतर्कता केन्द्र होइन, यो संवैधानिक अंग हो । यसको काम नै आवश्यक परेका बेला सरकारमाथि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो ।’
भ्रष्टाचार गर्ने व्यक्ति कांग्रेसको नेता होस् वा कुनै अरु दलको, पूर्वप्रधानमन्त्री होस् वा वर्तमान पदाधिकारी कानुनभन्दा माथि कोही नरहेको उनले बताए ।
सांसद बुढाले प्रधानमन्त्री संसदकाे सामना गर्न डराएको आरोप लगाए । ‘जुन संसदले प्रधानमन्त्री बनायो, त्यही संसदलाई प्रधानमन्त्रीले उपेक्षा गरिरहनुभएको छ,’ उनले भने, ‘बजेटको प्रश्न होस् वा सीमाको विषय, प्रधानमन्त्री संसदमा आएर जवाफ दिन चाहनुहुन्न । यो सिंगो देशका नागरिकलाई हेपेको हो ।’
