सर्लाही, ५ असार । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धमा दक्षिण कोरियाको कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयबीच ‘नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि’ परियोजना कार्यान्वयनका लागि असार ४ गते (बिहीबार) सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ६ वर्षे परियोजनाका लागि १ अर्ब ८१ करोड रुपैयाँ (१ करोड २० लाख अमेरिकी डलर) बराबरको अनुदान उपलब्ध गराउनेछ ।
मन्त्रालयका अनुसार यो परियोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगका आयोजनामध्ये सबैभन्दा ठूलो हो। साथै, नेपालमा कोइकाले सञ्चालन गर्ने हालसम्मकै सबैभन्दा ठूलो द्विपक्षीय परियोजना पनि यही हुनेछ ।
परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ ।
आयोजनाले जलवायुमैत्री कृषि प्रविधिको विस्तार, गुणस्तरीय धानको बिउ प्रणाली सुदृढीकरण, बाली कटानीपछिको व्यवस्थापन सुधार तथा कृषक र कृषि उद्यमीका लागि बजार पहुँच विस्तारमार्फत धानको उत्पादकत्व बढाई नेपालको खाद्य सुरक्षा मजबुत बनाउने लक्ष्य लिएको छ ।
परियोजना कार्यान्वयन कोइकाले कृषि मन्त्रालय तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालयहरूसँगको सहकार्यमा गर्नेछ । साथै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (इरी)ले प्राविधिक सहयोग प्रदान गर्नेछन् ।
परियोजनाले जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै जलवायु अनुकूलित धानको बिउ प्रणालीलाई बलियो बनाउने, सुधारिएका धानका जातहरूको विकास र विस्तार गर्ने तथा परिवर्तनशील मौसमीय अवस्थाअनुसार कृषि उत्पादनलाई दिगो बनाउने विषयमा विशेष जोड दिने बताइएको छ ।
