सर्लाही, ०६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार दुई सयभन्दा बढी हुने भएका छन्। रास्वपा केन्द्रीय सचिवालयका चार हजार दुई सयभन्दा बढी प्रतिनिधि हुने देखिएको छ ।

प्रारम्भिक तथ्यांकमा तीन हजार ८१० प्रतिनिधि देखिएको सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले बताए । यसमा २५ देशका प्रवास सम्पर्क विभागबाट दुई सय हाराहारी प्रतिनिधि थप हुने श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, सभापतिले मनोनय गर्ने संख्या दुई सय रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए ।

आज रास्वपाको केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेश भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए । प्रारम्भिक तथ्याङ्कअनुसार, कोसी प्रदेशबाट ५२० प्रतिनिधि रहेका छन् ।

त्यस्तै, मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिम प्रदेशबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने श्रेष्ठले बताए ।

महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना र प्रदेश समितिका सबै सदस्य रहने व्यवस्था छ ।

यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्च, केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् ।

प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ ।

गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट चुनाव लडेका र समानुपातिक सूचीमा रहेका उम्मेदवार पनि प्रतिनिधि हुनेछन् ।

यस्तै २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहने व्यवस्था छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधि सभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ ।

आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनका लागि रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू चितवन पुगिसकेका छन् ।

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह आइतबार नै चितवन आउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *